साउ पउलो– ब्राजिलियन मिडफिल्डर रोनाल्डिन्होले फुटबल खेल जीवनबाट संन्यास लिएका छन्। सन् २०१५ देखि सक्रिय फुटबलमा नखेलेका ३७ वर्षीय रोनाल्डिन्होले संन्यास लिएको उनका एजेन्ट रोबर्टो एसिसले पुष्टि गरेका हुन्।
रोनाल्डिन्होका भाइ समेत रहेका रोबर्टोले उनका लागि विदाई कार्यक्रम राखिएको बताए। 'उनले फुटबल खेल्न छाडेका छन्,' रोबर्टोले भने, 'हाम्रो ब्राजिल, युरोप र एसियाका विभिन्न स्थानमा कार्यक्रम गरेर विदाई गर्ने योजना छ।'
सन् २००२ मा ब्राजिलले विश्वकप फुटबलको उपाधि जित्दा रोनाल्डिन्होले प्रभावशाली प्रदर्शन गरेका थिए। उनले सन् २००५ मा फिफा बालेर डिअर अवार्ड जितेका थिए। यसै गरी सन् २००६ मा स्पेनिस क्लब बार्सिलोनाका लागि उनले युरोपियन च्याम्पियन्स लिगको उपाधि उचालेका थिए।
सन् १९९८ मा ब्राजिलियन क्लब ग्रेमिओबाट व्यवसायिक करिअर सुरु गरेका उनी २००१ मा पेरिस सेन्ट जर्मेनमा आवद्ध भएका थिए। उनले सन् २००३ देखि १९९८ सम्म स्पेनिस क्लब बार्सिलोनाबाट खेले। त्यसक्रममा उनले १ सय ४५ खेल खेल्दै ७० गोल गरे।
२००८ मा एसि मिलानमा आवद्ध भएका रोनाल्डिन्हो २०११ मा ब्राजिल फर्केका थिए। ब्राजिल फर्केपछि उनले सन् २०१५ सम्म विभिन्न तीन क्लबबाट फुटबल खेले। १९९९ मा ब्राजिलको राष्ट्रिय टिममा डेब्यु गरेका उनले ९७ क्याप जित्दै ३३ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।