काठमाडौं- सन् २०१४ मा भएको नेपाल र चीनबीचको हवाई सम्झौता पुनरावलोकन वार्ता सुरु भएको छ। चीनको बेइजिङमा बिहीबारदेखि दुई देश बीचको हवाई सम्झौता पुनरावलोन वार्ता सुरु भएको हो।
वार्ताका लागि नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा एक टोलीले सहभागीता जनाएको छ। टोलीलाई हवाई सम्झौता पुनरावलोकनका लागि मन्त्रिपरिषद्बाट समेत सहमति दिइएको छ।
चीनसँगको सन् २०१४ मा भएको सम्झौतामा नेपाल र चीनबीच सातामा ५६/५६ उडान गर्न सकिने उल्लेख छ। यो सहमतिबाट बढाएर हाल सातामा ७० उडान पुर्याइएको छ। फेरि, अहिले चीन र नेपाल सरकारका बीचमा द्विपक्षीय वार्ता भई हवाई सम्झौता पुनरावलोकन हुन लागेको हो।
तर, नेपालले हवाई सम्झौताअनुसार चीनमा उडान गर्न भने पाएको छैन। चीन तर्फका भने ५ वटा एयरलाइन्सले नेपालमा उडान गरिरहेका छन्।
हवाई यात्रुको संख्या बढ्दै गएपछि चीनले पुनः नेपालमा गर्दै आएको उडान संख्या बढाउने गरी हवाई सम्झौता पुनरावलोकनको प्रस्ताव गरेको थियो। चीनको प्रस्तावपछि सरकारले नेपाली वायुसेवा कम्पनीहरुले चीन उडान गर्न नपाएको अवस्थामा पनि गर्न लागेको हवाई सम्झौता पुनरावलोकनमाथि प्रश्न खडा भएको छ।
पछिल्लो समय मात्रै नेपाल एयरलाइन्सले चीनको गोन्जाओ उडानको तयारी गरेको थियो। तर, त्यसमा पनि चीनले नेपाल एयरलाइन्सको 'सेफ्टी अडिट' गर्नुपर्ने भन्दै उडानमा अनुमति दिएको छैन। सेफ्टी अडिटको प्रस्ताव गरेपछि नेपाल एयरलाइन्स पनि केही पछाडि हटेको छ। त्यसको अर्थ नेपाल एयरलाइन्सले हवाई सुरक्षामा सुधार गर्न नसकेको हो की भने प्रश्न उब्जिएको छ।
तर, नेपाल एयरलाइन्सले हवाई सुरक्षा व्यवस्थालाई सुधार गर्दै सेफ्टी अडिटमा सहयोग गर्नुको सट्टा आफू स्वयम् कमजोर रहेको पुष्टि हुनेगरी 'डराएर' बसेको छ। सेफ्टी अडिटमा खुट्टा कमाउँदै आएको पूर्ण सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले यसैकै कारण एक वर्षअघि किनेका एयरबसका ए-३३० विमानले लामो दूरीमा उडान गर्न पाएका छैनन्। जापान, कोरिया तथा साउदी अरबमा उडान गर्नेगरी ल्याइएका विमानले ती गन्तव्यका लागि उडान अनुमति नै पाउन सकेका छैनन्।
झन्डै एक वर्षअगाडि पनि कोरिया सेफ्टी अडिटमा नेपाल आउन खोजेको थियो। तर, नेपाल एयरलाइन्सकै कारण कोरिया पनि सेफ्टी अडिटमा आउन पाएको थिएन। जसका कारण कोरिया उडान पनि अनिश्चित भइसकेको छ। फेरि 'सेफ्टी अडिटकै कारण चीनसँग हवाई सम्झौता पुनरावलोकन भएर उडान गर्न पाउने संख्या बढे पनि नेपालले उडान गर्न नपाउने त होइन?' भन्ने प्रश्न उठेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका एक सहसचिवले बताए।
योसँगै निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले पनि चीन उडानका लागि तयारी गरको २ वर्ष हुन लागिसकेको छ। तर, सेफ्टी अडिटमा पास भएको हिमालयले पनि विमान उडाउन पाएको छैन।
तर, चीनबाट धेरै विमान नेपाल आउने र उनीहरुले पर्याप्त यात्रु पनि पाउन थालेसँगै ७० उडानलाई तन्काएर सातामा १ सय उडानसम्म गर्न पाउने गरी हवाई सम्झौता पुनरावलोवनको प्रस्ताव चीनले गरेको छ।
त्यसमा पनि नेपाल र चीनबीच भएको पछिल्लो सम्झौताअनुसार चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र विमान आउन पाउँछन्। अहिलेको हवाई सम्झौता भने सवै विमानस्थलमा उडान गर्न पाउने गरी हुन लागेको मन्त्रालयको भनाइ छ।
विशेषगरी मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई समेत प्राथमिकतामा राखेर हवाई सम्झौता पुनरावलोकन गर्न लागेको वार्तामा सहभागी मन्त्रालयका सहसचिव सुरेश आचार्यको भनाइ छ।
चीनमा नेपाली कम्पनीहरुलाई 'स्लट' (उडान तालिका)को मुख्य समस्या छ। विमानस्थलहरुले नेपाली कम्पनीलाई उडानको अनुमति दिइरहेका छैनन्। यसको सहजीकरणका लागि यसपटक नेपाली वार्ता टोलीले उठाउने भएको छ। तर, चीनले अहिले सातामा ७० उडान गर्दै आएको छ।
मन्त्रालयले ’नेपाल भ्रमण वर्ष, २०२०’लाई लक्षित गर्दै हवाई सम्झौता पुनरावलोकन गर्न लागेको उनको भनाइ छ। उडान संख्या बढाउने वा नबढाउने विषयमा भने वार्ताकै क्रममा टुंगो लाग्ने उनले जानकारी दिए।
नेपालले अहिले पुरानो सम्झौताअनुसार चीनका ७ वटा सहरमा उडान गर्न पाउने भए पनि अबको हवाई सम्झौता पुनरावलोकनमा भने सबै सहरमा उडान गर्न पाउने गरी सम्झौता हुनसक्ने उनले संकेत गरे।
तर, अहिले नेपाली वायुसेवा कम्पनीले चीन उडान गर्न भने पाएका छैनन्। नेपाल एयरलाइन्सले हाल चीनको गोन्जाओमा उडानको तयारी गरिरहेको छ। पुरानो सम्झौतामा ’बेइजिङ, सांघाई, ल्हासा, गोन्जाओ, कुनमिङ, छेन्दु र सियान गरी ७ सहरमा नेपाली विमान उड्न सक्ने’ उल्लेख छ।
अहिले चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन्। नेपालबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स चीन जान चाहे पनि व्यस्त विमानस्थलहरुले ’स्लट’ दिन नसक्दा उडान हुन सकिरहेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।