काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि स्थगित भएको छ।
'विभागहरुको नेतृत्वको विषयमा गृहकार्य पूरा नभएको र नरबहादुर कर्मचार्यको स्मृति दिवस कार्यक्रम पनि भएकाले बैठक स्थगित भएको हो', प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल लाइभसँग भने।
नेकपामा विभागहरुको नेतृत्वको विषयमा कुरा मिल्न सकेको छैन। अन्य विभागहरुको विषयमा खासै असमझदारी बाहिर नआए पनि स्कुल विभागको विषयमा भने प्रष्ट दुई धार देखिएका छन्। पूर्व एमालेका तर्फबाट ईश्वर पोखरेलले यो विभागको नेतृत्वको लागि दाबी गरिरहेका छन्।
नेकपा पनि जबज ब्युँताउनुपर्छ भन्ने बहस गरिरहेका पोखरेललाई पूर्व माओवादी केन्द्रले रुचाएका छैनन्। विकल्पमा उनीहरुले श्रेष्ठको नाम अघि सारिरहेका छन्।
पछिल्लो समय घनश्याम भुसाल लगायतका नेता पनि सो विभागको नेतृत्वको लागि अघि सरेका छन्।
असार ३१ मै शीर्ष नेताबीच विभागहरुको भागबण्डा मिलेको बताइए पनि नेतृत्वको विषयमा कुरा नमिल्दा नेकपामा पछिल्लो सकस देखिएको हो।
साउन ५ गते बसेको सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोकेको थियो। सोही बैठकले विभागहरुको नेतृत्व पनि टुंग्याउने बताइए पनि ७ गतेका लागि बैठक स्थगित गरिएको थियो।
तर, ७ गतेको बैठक पनि बस्न सकेन। बरु आजका लागि बैठक स्थगित भएको थियो।
नेकपाका ३२ केन्द्रीय विभाग छन्। जसमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ विभागको नेतृत्व गर्ने समझदारी भएको छ।
पूर्व एमालेले विदेश विभागमा माधवकुमार नेपाल र संगठन विभागमा वामदेव गौतमको नेतृत्व हुने टुंग्याइसकेको छ। ५ गतेको सचिवालय बैठकअघि गौतमले संगठन विभाग नेतृत्वमा आफू हुने कुरा पक्का भएको बताएका थिए।
पूर्व माओवादीको तर्फबाट कुनै पनि नाम निश्चित भएको छैन। (फाइल फोटो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।