लन्डन- बोरिस जोन्सनले बेलायतको नयाँ प्रधानमन्त्रीका रुपमा पदबहाली गरेका छन्।
बुधबार बेलायती महारानी एलिजावेथ द्वित्तीयसँगको भेटपछि उनले औपचारिक रुपमा पदबहाली गरेका हुन्। उनी बेलायती मन्त्रिपरिषद्को प्रमुख पदमा रहेकाले ब्रेक्जिटबारे महत्वपूर्ण निर्णय लिने आशा व्यक्त गरिएको छ।
यसअघि निर्वतमान प्रधानमन्त्री थेरेसा मेको प्रस्ताव संसद्बाट पास नहुनुमा जोन्सनले महत्वपूर्ण भूमिका निभाएका थिए।
ब्रेक्जिटबारे आवश्यक निर्णय लिन सहज होस् भनेर नै उनले आफ्नो नीतिअनुकूलको मन्त्रिपरिषद् गठन गरेको बताइएको छ। जोनसनले डोमिनिक रावलाई विदेश मन्त्रालय र प्रिती पटेललाई गृह मन्त्रालयको जिम्मेवारी दिएका छन्।
२ वर्षअघि थेरेसा मेको कार्यकालमा विवादमा तानिएपछि राजीनामा दिन बाध्य पटेलको सरकारमा पुनरबहाली भएको छ। उनी भारतीय मूलकी हुन्।
उता साजिद जाभिदलाई गृह मन्त्रालयबाट जिम्मेवारी परिवर्तन गर्दै अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। जाभिद पाकिस्तानी मुलका हुन्। जोनसनको टिममा अर्का भारतीय मुलका सांसद आलोक शर्मालाई अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री बनाइएको छ।
यसअघि प्रधानमन्त्री जोनसनले बेलायत आगामी ३१ अक्टोबरमा युरोपेली युनियनबाट औपचारिक रुपमा बाहिरिने बताएका थिए। पदबहाली गर्नुअघि उनले बेलायतलाई सो समयावधिमा निर्णय लिन कुनै विकल्प नरहेको जिकिर गरेका थिए।
सो सम्बन्धमा निर्णय लिन सहज होस् भनेर उनले मेको मन्त्रिपरिषद्का १७ जना सदस्यलाई पदमुक्त तथा फेरबदल गरको बताइएको छ। आफूसँगै प्रधानमन्त्रीका प्रतिस्पर्धि रहेका जेरोमी हन्टसमेत विदेश मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरिएका छन्।
यसैबीच बेलायती प्रधानमन्त्रीको पदीय जिम्मेवारीबाट मुक्त हुँदै थेरेसा मेले बुधबार औपचारिक रूपमा पदबाट राजीनामा दिएकी छिन्। उनले आफ्नो राजीनामा पत्र बेलायती महारानी एलिजावेथ द्वितीयलाई बुझाएकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
उनको राजीनामा स्वीकृतिसँगै महारानीले प्रधानमन्त्रीका रूपमा बोरिस जोनसनलाई नियुक्त गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।