काठमाडौं– त्रिभुवन आर्मी क्लबले यो सिजन उत्कृष्ट प्रदर्शन जारी राखेको छ। सोमबार धनगढीमा सम्पन्न सुदूरपश्चिम गोल्डकपको फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै आर्मीले सिजनको चौथौ उपाधि जित्यो।
यसअघि आर्मीले मंसिरमा दुई वटा उपाधि जितेको थियो। आर्मीले तेस्रो उपाधिका रुपमा काँकडभिट्टा गोल्डकपको उपाधि जितेको थियो। त्यसबेला आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै उपाधि उचालेको थियो। आर्मीले सिजनको दोस्रो उपाधि पनि झापामै जितेको थियो। आर्मीले शिव सताक्षी गोल्डकपमा पनि मनाङलाई नै पराजित गर्दै उपाधि उचालेको थियो।
सिजनको पहिलो उपाधिका रुपमा भने आर्मीले वैशाखमा वीरगञ्जको विशाल मेमोरियल गोल्डकप जितेको थियो। दुहबी गोल्डकपको फाइनलमा पुगे पनि आर्मीले मनाङसँग पराजित हुनुपरेको थियो।
आर्मीलाई उपाधि जिताउन कप्तान भरत खवासले प्रेरणादायी प्रदर्शन गरिरहेका छन्। सोमबार सम्पन्न सुदूरपश्चिम गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका भरतले आर्मीले सिजनमा खेलेका सबै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुको कारण नेपाल लाइभका सीताराम कोइरालालाई बताएका छन्:
यो सिजन हामीले अहिलेसम्म पाँच वटा प्रतियोगिता खेल्यौं। पाँच प्रतियोगितामध्ये चार उपाधि जित्यौं। एक प्रतियोगिताको फाइनलमा पुगेका थियौं।
यो सिजन हाम्रो टिम वर्क एकदमै राम्रो छ। खेलाडीमा 'विनिङ मेन्टालिटी' बलियो भएका कारण नै हामी यो सिजनमा खेलिएका सबै प्रतियोगिताको फाइनलमा पुगेका हौं। अर्कोतर्फ सबै खेलाडीले कडा मिहिनेत गरेका छन्।

त्रिभुवन आर्मी क्लबको फुटबल टिमको व्यवस्थापन पनि एकदमै राम्रो भएकाले खेलमा सकारात्मक प्रभाव परेको छ। अभ्यास गर्ने मैदानदेखि खेलाडीलाई चाहिने सबै कुरा पुर्यामउन आर्मी व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्यो।
म, नवयुग श्रेष्ठ, विकेश कुथु, जर्जप्रिन्स कार्की र जितेन्द्र कार्की गरी आर्मीबाट अहिले पाँच जना खेलाडी राष्ट्रिय टिममा छन्। राष्ट्रिय टिममा गरेको प्रशिक्षणले पनि क्लब स्तरीय खेलमा धेरै प्रभाव पार्छ। त्यहाँ सिकेका कुरा राष्ट्रिय स्तरका प्रतियोगितामा लागू गर्न सकिएकाले हामीलाई फाइदा पुगेको छ। राष्ट्रिय टिमको क्याम्पमा राम्रा खेलाडी र प्रशिक्षकसँग सिक्न पाउँदा आत्मबल बढ्छ र क्लब स्तरीय प्रतियोगिता खेल्न सहज हुन्छ।
आर्मीको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएदेखि टिममा धेरै सुधार आएको जस्तो लागेको छ। उहाँ खेलाडीसँग फ्रेन्ड्ली व्यवहार गर्नुहुन्छ र प्रोत्साहन दिइरहनुहुन्छ। जसका कारण हामीले राम्रो खेलिरहेका हौं।
पछिल्लो समय मोफसलमा मात्र प्रतियोगिता भएका छन्। यसले फुटबल विकासमा ठूलो सहयोग गरेको छ। लिग भइदिएको भए खेलाडीको स्तर अझै बढ्थ्यो। लोकल प्रतियोगिता मात्र हुँदा राम्रो खेलाडीले आफ्नो कौशल तिर्खान पाएको जस्तो लाग्दैन। लिग भइदिएको खण्डमा राम्रा खेलाडीले आफ्नो खेल देखाउन पाउँछन्। नयाँ खेलाडी पनि उत्पादन हुन्छ।
हामी अहिले राम्रो फर्ममा छौं। लिग भए हाम्रा लागि अवश्य राम्रो अवसर हो। अन्य टिमका लागि पनि राम्रो हुन्थ्यो। नेपालको फुटबल विकासका लागि लिग हुनै पर्छ। लिग भए राष्ट्रिय टिममा लागि नयाँ खेलाडीको आगमन हुन्छ। लिग भए खेलाडी, प्रशिक्षक र फुटबलप्रेमी सबैलाई राम्रो हुन्छ। त्यसैले सबै खेलाडी लिग चाँडो भइदिए हुन्थ्यो भन्ने चाहान्छौं। सबैले लिगको प्रतीक्षा गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।