काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापा नेपालीको ‘रुने क्यालेन्डर’ बदल्न सरकार र संसदमा गम्भीर छलफल गर्न जरुरी भएको बताएका छन्।
हरेक वर्षको साउन र भदौ क्यालेन्डरमा बाढीले रुनुपर्ने तालिका बनिरहेको बताउँदै यो दोहोरिन नदिन संसदमा निरन्तर बहस जरुरी भएको बताएका हुन्।
उनले संसदमा भने, ‘हामीसँग एउटा रुने क्यालेन्डर छ। पूरा नहुने संकल्पका साथ हाम्रो नयाँ वर्ष सुरु हुन्छ। जेठ र असारमा विकास बजेट नसकिएकोमा रुन्छौं। दशैंमा महंगीका कारण रुन्छौं। साउन र भदौमा बाढीपहिरोका कारण रुन्छौं।’
उनले रुने क्यालेन्डर बदल्न काम गर्ने तौरतरिका बदल्नुपर्ने बताए। उनले प्रकृतिसँग सहअस्तित्वले मात्रै यस्तो विपद्बाट जोगाउने उल्लेख गर्दै भने, ‘अहिले विकास नभएर विनास भइरहेको छ। त्यसैले केही पूर्वाधार बनाउनुपर्नेछ। केही भत्काउनुपर्नेछ। डुबानमा पर्नुका कारण सीमामा बाँध बाँधियो, प्रत्येकपटक भन्छौं। यसपल्ट संकल्प गरौं।’
बाढीका विषयमा संसद एक ठाउँमा उभिन जरुरी रहेको उनले बताए। यो विषयमा लगातार छलफल गर्न समेत प्रस्ताव गरे। बाढी पहिरोको प्रसंगलाई जोडेर उनले गृहमन्त्रीलाई व्यंग्य गर्न भ्याए, ‘उनले भने निर्मला पन्तका विषयमा भनेजस्तो बाढी पहिरोका विषयमा नभनिदिनुहोला।’ गहमन्त्री थापाले मंगलबार एक कार्यक्रममा ‘बलात्कार हिजो पनि भएको थियो, आज पनि भइरहेको छ र भोलि पनि भइरनेछ’ भनेका थिए।
काठमाडौंमा भूकम्प जाँदा मधेशका नागरिकले सहयोग गरेको स्मरण गराउँदै यतिबेला मधेशीका लागि सहयोग गर्न आग्रह गरे।
यसैगरी जलवायु परिवर्तनका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तो वैज्ञानिक नभएको भन्न नपाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।