काठमाडौं- माघ १९ बाट रिलिजको तयारीमा रहेको फिल्म ‘शेरबहादुर’ हलिउड फिल्मबाट प्रभावित भएर बनाइएको खुलेको छ।
एक सन्की भूपू आर्मीको कथामा आधारित फिल्म एक हलिउड फिल्मबाट प्रभावित रहेको फिल्मका मुख्य कलाकार सुनिल थापाले बताएका छन्। मंगलबार राजधानीको एभरेस्ट फिल्म एकेडेमीमा 'शेरबहादुर'को निर्माण युनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार थापाले यस्तो खुलासा गरेका हुन्।
हलिउडको कुन फिल्मबाट प्रभावित छ भन्ने प्रसंगमा भने थापा मौन रहे। फिल्म हलिउडबाट प्रभावित भए पनि दर्शकले सो कुराको अनुभव नगर्ने उनले दाबी गरेका छन्।
‘शेरबहादुर’ को चरित्र आफ्नो करिअरकै माइलस्टोन साबित हुने उनको अपेक्षा छ। उनी यो फिल्ममा 'दृष्टिविहीन' को भूमिकामा देखिनेछन्।
फिल्ममा अभिनेता थापाका साथै कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायत कलाकारको मुख्य भूमिका छ।
कार्यक्रममा कर्माले यसअघि लभर ब्वाइ र भिलेनको रुपमा देख्ने दर्शकले 'शेरबहादुर'मा दुइटै रुप देख्न पाउने बताए। यस्तै, मेनुकाले फिल्मले आफ्नो करिअरमा नयाँ इँटा थप्ने भन्दै निकै आशा गरेको उल्लेख गरिन्।
अर्का कलाकार रविन्द्र झाले फिल्मका लागि निकै मिहिनेत गरेकाले 'शेरबहादुर'ले अभिनय यात्रामा अर्को सफलता हात पार्नेमा ढुक्क रहेको बताएका छन्।
प्रमोद क्षेत्रीले लेखेको फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।