काठमाडौं- राष्ट्रियसभा सदस्यहरुले वर्षेनी बाढी, डुबान र पहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेको भन्दै दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले प्राकृतिक विपदबाट हुने क्षतिको न्यूनीकरणका लागि दीर्घकालीन समस्या समाधान हुने गरी आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
वर्षेनी गर्मीमा आगलागी र बर्षायाममा बाढी, डुबान र पहिरोको समस्या भोग्नुपर्ने विषय नेपालीका लागि नियमित आकस्मिकता भएको भन्दै उनीहरुले समस्या सम्बोधनमा गम्भीर बन्न आग्रह गरेका हुन्।
सांसद जितेन्द्र नारायण देवले प्राकृतिक विपद्बाट हुने क्षतिको न्यूनीकरणका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए। समस्यालाई सधै राजनीतिकरण गरि पन्छाउने काम गरिएकाले मुलुक सधै प्राकृतिक विपद्को मारमा पर्दे आएको भन्दै उनले ‘समस्यालाई डाइभट गर्ने प्रयासको राजनीतिकरण ’बन्द गर्न आग्रह गरे।
'नेपालको राजनीतिमा जहिलेपनि पानीमाथि पनि राजनीति, जंगलमाथि पनि राजनीति, हरेक चिजमा राजनीति भयो। समस्याको समाधान कहिलेही पनि भएन। समस्या घरभित्र छ। समस्या हाम्रो कोटमा छ। समस्या हाम्रो जिउमा छ,' उनले भने, 'तर हामी जहिले पनि पर पर पर त्यहाँ समस्या छ भनेर जहिले पनि डाईभट गर्ने। समस्या लाई डाइभट गर्ने प्रयासको राजनीतिकरण गर्यौं। गरिरहेका हुन्छौं।'
निर्मला पन्त प्रकरण सम्बन्धमा ‘हिजो पनि भएका थिए, आज पनि भएका छन् र भोलप पनि हुन्छन्’ भनी गृहमन्त्रीले गैह्रजिम्मेवार अभिव्यक्ति दिएको पनि उनको भनाइ थियो। तर पनि डुबानका बारेमा उनको विश्लेषणलाई आफूले सकारात्मक लिएको बताए।
तटबन्धको राम्रो व्यवस्था नहुनु र अव्यवस्थित क्रसर उद्योग स्थापना हुनुले तराईक्षेत्रमा डुबान र बाढीको समस्या बढेको तथा अव्यवस्थित डोजर चलाएका कारण पहाडी क्षेत्रमा पहिरोको समस्या निम्तिएको गृहमन्त्रीको विश्लेषण सही भएको भन्दै उनले चुरे दोहन र अव्यवस्थित डोजर संचालन, क्रसर उद्योग स्थापना तथा तटबन्धको समस्या समाधान बारे छलफल गरिनुपर्ने बताए। चुरे संरक्षण, अव्यवस्थित डोजर चल्ने विषय तथा क्रसर उद्योग स्थापनाकाबारेमा आन्तरिक छलफल गरि समाधान खोज्नुपर्ने तर्क उनको थियो।
सांसद् दिलकुमारी रावल पार्वतीले प्राकृतिक प्रकोपको न्यूनीकरणका लागि पुर्व तयारी तथा पुर्व सुचना प्रणालीको व्यवस्था गर्दै जोखिममा रहेका बस्ती स्थानान्तरणको व्यवस्था मिलाउन सरकारसंग माग गरे। पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोमा परि ठुलो मानविय र भौतिक क्षति भएको भन्दै उनले बर्सेनि प्राकृतिक विपद्का घटनाबाट हुने क्षति कम गर्नका लागि पूर्व सर्तकता अपनाउने विषय तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए।
यसैगरी, सुमनराज प्याकुरेलले वर्षासँगैको बाढी र पहिरोका कारण तराईका जिल्लामा ठुलो नोक्सानी पुर्याएको भन्दै बाढी, पहिरो र डुबानको समस्या सम्बोधनका लागि चुरे दोहन रोक्ने र अव्यवस्थित क्रशर उद्योग खोल्ने काममा रोक लगाउनुपर्नेमा जोड दिए। सांसद कोमल ओलीले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यून गर्न नीतिगत व्यवस्था गर्न माग गरेकी थिइन्।
त्यसैगरी चक्र प्रसाद स्नेहीले 'प्लस टु' लाई माध्यमिक शिक्षामा गाभिएसंगै माध्यमिक तहमा गाभिएका १८ हजार शिक्षकको सेवा सुविधा र दरबन्दीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए।
राष्ट्रियसभा सदस्य तारादेवी भट्टले कंचनपुर सुडा गाविसका सुन्दरपुरका स्थानीयको बसोबासको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।
त्यसैगरी रामनारायण बिँडारीले ठुलो संख्यामा युवाहरु लागु औषध र्दुव्यसनमा फसेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए। स्वदेशमा रहेका युवाहरु कुलतमा फस्ने र योग्य र क्षमता भएका युवाहरु वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख गर्दै समयमै त्यसतर्फ विचार पुर्याउनुपर्नेमा जोड दिए।
बैठकको शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य अनिता देवकोटाले खेती लगाउने समयमा किसानले आवश्यक मल पाउन नसकेको भन्दै दाङमा मल अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद उदय शर्मा पौडेलले राष्ट्रिय महिला आयोगमा लामो समय पदाधिकारी रिक्त भएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए।
खिम कुमार विश्वकर्माले लोकसेवा आयोगको विज्ञापन संविधानले व्यवस्था गरे अनुसारको समावेशी समानुपातिक हुन नसक्दा राज्य र उत्पीडीत समुदायबीचको दुरीलाई बढाएको भन्दै सकारात्मक सोच सहितको निकास खोज्न माग गरे।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रमाण दोश्रो संसोधन विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका थिए।
राष्ट्रियसभाको अर्को बैठक आगामी आइतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।