काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी मार्चमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आधारमा एसोसिएट देशलाई अस्थायी एकदिवसीय टिमको मान्यता प्रदान गर्ने भएको छ।
आगामी मार्चमा जिम्वाबेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको खेलपछि एकदिवसीय मान्यता प्रदान गर्ने आइसिसीले सोमबार जनाएको हो। आइसिसीका अनुसार विश्वक्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले मान्यता पाइसकेको छ।
अब छनोट प्रतियोगितामा भाग लिएका एसोसिएट टिम मध्ये शीर्ष तीन टिमलाई एकदवसीय मान्यता दिइनेछ। आइसिसीले भनेको छ, 'विश्व क्रिकेट लिग च्याम्पियनसिप विजेता नेदरल्यान्ड्ससहित छनोट प्रतियोगितामा भाग लिएका मध्ये शीर्ष ३ एसोसिएट टिम गरी ४ टिमलाई सन् २०२२ सम्मका लागि एकदिवसीय टिमको मान्यता दिइनेछ।'
छनोट प्रतियोगितामा वेस्ट इन्डिज,आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, अफगानिस्तान, जिम्वाबे, स्कटल्यान्ड, हङकङले खेल्ने पक्का भइसकेको छ। बाँकी २ टिम आइसिसी विश्वक्रिकेट लिग डिभिजन–२ मा छनोट हुनेछन्। १० टिम मध्ये वेस्ट इन्डिज, आयरल्यान्ड र अफगानिस्तान, जिम्वाबे आइसिसीको पूर्ण सदस्य हुन्। नेदरल्यान्ड्सले पनि एकदिवसीय टिमको मान्यता पाउने पक्का भइसकेको छ। अब स्कटल्यान्ड, हङकङ, पपुवा न्युगिनी र डिभिजन–२ का शीर्ष २ टिम गरी पाँच एसोसिएट टिम मध्ये ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।
आइसिसीले छनोट प्रतियोगिताका लागि सोमबार समूह विभाजनसहित खेल तालिका सार्वजनिक गरेको थियो। प्रतियोगिता ४ मार्चमा सुरु भएर २५ मार्चमा सकिनेछ। त्यसपछि सन् २०१९ को विश्वकप खेल्ने २ टिम र ४ एसोसिएट टिमले एकदिवसीय मान्यता पाउने टुंगो लाग्नेछ।
नेपालको के छ सम्भावना?
अस्थायी एकदिवसीय टिमको मान्यताका लागि एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउनुपर्ने हुन्छ। डब्लुसिएल च्याम्पियनसिपबाट एकदिवसीय विश्वकपमा छनोट हुन चुकेको नेपालका लागि अन्तिम विकल्प बाँकी छ। नेपालले डिभिजन–२ को शीर्ष दुई स्थान हात पारे मात्र अस्थायी एकदिवसीय मान्यताको ढोका खुल्नेछ।
फेब्रुअरीमा नामिबियामा हुने डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। नेपालले अस्थायी एकदिवसीय टिमको मान्यता पाउन डिभिजन–२ मा शीर्ष २ स्थानमा परेर मात्र पुग्दैन। विश्वकप छनोटमा ५ एसोसिएट टिममध्ये शीर्ष तीनमा पुर्नु पर्नेछ।
अस्थायी मान्यता कसले पाए, कसले गुमाए ?
आइसिसीले सन् २००५ देखि ६ वटा एसोसिएट टिमलाई अस्थायी एकदिवसीय टिमको मान्यता दिन थालेको हो। आइसिसीले अस्थायी मान्यता ४ वर्षको लागि दिने गरेको छ। अस्थायी मान्यता दिने आधार एकदिवसीय विश्वकप छनोटलाई मान्दै आइएको छ। तर, यदाकदा आइसिसीका प्रतियोगितामा उत्कृष्ट खेल्ने टिमलाई पनि अस्थायी मान्यता दिने गरिएको छ।
स्कटल्यान्डले सन् २००६ देखि अस्थायी एकदिवसीय टिमको मान्यता पाएको थियो। युएई, हङकङ र पपुवा न्युगिनीले भने सन् २०१४ मा एकदिवसीय मान्यता पाएका हुन्। यो मान्यता विश्वकप छनोट प्रतियोगितासम्मका लागि हो।
यसअघि अस्थायी मान्यता पाएका अफगानिस्तान र आयरल्यान्ड भने स्थायी सदस्यमा बढुवा भइसकेका छन्। अफगानिस्तानले सन् २००९ तथा आयरल्यान्डले सन् २००६ मा पहिलो पटक अस्थायी एकदिवसीय टिमको मान्यता पाएका थिए।
केन्याले सन् १९९७ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो। सन् २०१४ को विश्वकप छनोटमा खराब प्रदर्शनपछि केन्याको मान्यता खोसिएको थियो। क्यानडाले पनि सन् २००६ देखि २०१४ सम्म एकदिवसीय मान्यता पाएको थियो। बर्मुडाले सन् २००६ देखि सन् २००९ सम्म ३ वर्ष अस्थायी एकदिवसीय टिमको मान्यता पायो। सन् २००६ मा पहिलो पटक अस्थायी एकदिवसीय टिमको मान्यता पाएको नेदरल्यान्ड्सको मान्यता सन् २०१४ मा खोसियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।