काठमाडौं – स्पेनिस क्लब रियल मड्रिडले स्ट्राइकर ग्यारेथ बेललाई नयाँ सिजन क्लबमा राख्न नचाहिरहेका बेला उनले उत्कृष्ट खेल देखाएका छन् । इंग्लिस क्लब आर्सनलसँगको च्याम्पियन्स कप खेलमा महत्वपूर्ण गोल मात्र होइन उनको संयोजन नै उत्कृष्ट रह्यो ।
आर्सनलका लागि अलेक्जेण्डर ल्याकाजेटले १० औँ मिनेटमा साथै इमेरिक एबामियोङले २४ औँ मिनेटमा गोल गर्दै दिलाएको अग्रता दोस्रो हाफमा बेल र मार्को एसेन्सिसोको गोलमार्फत मड्रिडले बराबरी गरेको थियो । बेलले ५६ औँ मिनेटमा साथै एसेन्सियोले ५९ औँ मिनेटमा गोल गरेका थिए ।
पहिलो हाफमा २–० ले पछि परेको मड्रिडका लागि दोस्रो हाफमा इडन हाजार्डको स्थानमा मैदान प्रवेश गरेका बेलले नै आश जगाएका थिए । आर्सनलका क्यालुम च्याम्बर्सको प्रहार पनि बेलले गोल लाइनबाटै जोगाएका थिए ।
खेलको ९ औँ मिनेटमा मड्रिडका नाचा रेड कार्ड पाउँदै बाहिएका थिए । यस्तै ४० औँ मिनेटमा आर्सनलका सोक्ररेट्स पनि रेड कार्ड पाउँदै बाहिरिएपछि दुवै टिम १० खेलाडीमा घटेका थिए । निर्धारित ९० मिनेटको बराबरीपछि भएको पेनाल्टीमा मड्रिड ३–२ ले विजयी भयो ।
पेनाल्टी मिस गरे पनि बेलले निर्धारित समयभर रियल मड्रिडको स्ट्राइकिङ समालेका थिए । मड्रिडमा आफ्नो उपयोगिता सावित गरे पनि उनको भविष्य भने अन्यौल नै छ ।
मड्रिडको नयाँ सिजनमा बेलका लागि कुनै योजना नरहेको बताउँदै आएका प्रशिक्षक जिनेदिने जिदानले खेलपछि उनको तारिफ गरे पनि पहिलेको योजना परिवर्तन नहुने नै बताए ।
‘उनले निकै राम्रो खेल देखाए । त्यसका लागि म आभारी छु । तर केही परिवर्तन हुने छैन । अवस्था कस्तो छ भन्ने तपाइँहरुलाई पनि थाहा छ’ उनले भने ।
गएको हप्तादेखि नै बेलले क्लब छाड्नुपर्ने र त्यो सबैका लागि राम्रो हुने बताउँदै आएका जिदानले उनको खेल राम्रो रहेको बताए पनि उनलाई क्लबमा राखिरहन नसक्ने भनाइबीच तालमेल मिलेको देखिँदैन ।
‘उनी हामीसँग नै रहिरन चाहन्छन् । अभ्यासमा राम्ररी नै सामेल भएका छन् । खेलमा पनि राम्ररी प्रस्तुत भए, राम्रो खेले । अब के हुन्छ भन्न सकिने स्थिति छैन’ जिदानले भने ।
सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा टोटनह्यामबाट रियल मड्रिड आएका बेलको सम्झौता अझ तीन वर्ष बाँकी नै छ । उनले मड्रिडका लागि चार च्याम्पियन्स लिग, एक ला लिगा, एक कोपा डेल रे, चार क्लब विश्वकप र तीन युइएफए सुपर कप जितेका छन् ।
रियल मड्रिडमा नै आफ्नो खेल जीवन बिताउन चाहेका बेलले यस्ता उपलब्धी क्लबलाई दिलाएका छन् भन्नेसमेत अहिले छायामा परिरहेको छ । उनलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र टोटनह्याम, जर्मन च्याम्पियन बार्यन म्युनिख र चाइनिज सुपर लिग क्लबले समेत किन्न इच्छा देखाइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।