काठमाडौं– पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भाग लिन स्थालमार्ग हुँदै पाकिस्तान पुगेको नेपाली टिम प्लेनमा फर्कने पक्का भएको छ। आर्थिक अभावका कारण नेपाली टिम रेल र बसमा कष्टपूर्ण यात्रा गर्दै पाकिस्तान पुगेको थियो। पाकिस्तानमा दुई खेल खेलेपछि नेपाल बाँकी तीन खेलका लागि दुबई पुगेको थियो। दुबई भने आयोजकले नै लागेका थिए।
आर्थिक अभावका कारण स्थलमार्गबाट पाकिस्तान जानु परेको समाचार सार्वजनिक भएपछि क्रिकेटप्रेमीहरुले नेपाली टिमलाई सहयोग गर्न अभियान सुरु गरेका थिए। नेपाली क्रिकेट समर्थक समाजको अगुवाइमा सुरु गरिएको आर्थिक संकलन अभियान अहिले पनि भइरहेको छ।
आर्थिक संकलन अभियानले सार्थकता पाएसँगै नेपाली टिमका लागि फर्कनका लागि प्लेनको टिकट काटिएको समाजका अध्यक्ष भानु सिग्देलले नेपाल लाइभलाई जानकारी दिए। २१ जनावरीका लागि नेपाली टिमका लागि फ्लाई दुबईको २२ वटा टिकट बुक गरिएको सिग्देलले जनाए। फ्लाइ दुबइले टिकटका लागि ३० प्रतिशत छुट दिएको छ। छुट दिए बापत समाजले फ्लाइ दुबईका लागि प्रमोसनका कार्यक्रम गर्नेछ। टिकटको लागि लगभग ३ लाख १९ हजार रुपैयाँ लागेको समाजका अध्यक्ष सिग्देलले बताए। टिकट समाजका युएई प्रतिनिधि महेन्द्र गुरुङले नेपाली टिमका म्यानेजर निरोज गिरीलाई हस्तान्तरण गर्नेछन्।
सहयोग संकलन अभियानमा अहिलेसम्म ५ लाख ८९ हजार रुपैयाँ संकलन भइसकेको छ। अभियान जनावरी २० सम्म चल्ने छ। टिकट लागेको मूल्य बाहेकको बाँकी रकम नेपाली टिम काठमाडौं फर्किएपछि हस्तान्तरण गरिनेछ।
पाकिस्तान र यूएईमा भएको विश्वकपमा नेपालले खेलेका पाँच खेल मध्ये चार खेलमा हार बेहोरेको थियो। अन्तिम खेलमा भने नेपालले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।