काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षकमा मुम्बईका सुलक्षण कुलकर्णी नियुक्त भएका छन्। उनलाई आगामी महिना नामिबियामा हुने आइसिसी डिभिजन–२ क्रिकेट प्रतियोगितामा लागि कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक नियुक्त गरिएको हो।
नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटाले कुलकर्णी प्रशिक्षकमा नियुक्त भएको पुष्टि गर्दै उनी २–३ दिनमा नेपाल आइपुग्ने बताए। नेपालले डिभिजन २ का लागि गत मंगलबार देखि सुरु गरेको थियो।
आइसिसीले पठाएका कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षकमा नियुक्त मुम्बईका उमेश पटुवाल र हैदरावादका अभिजित चटर्जी को पनि नाम पठाएपनि कुलकर्णीलाई प्रशिक्षकमा नियुक्त गरिएको हो। यसअघि नेपालले मोन्टी देसाइलाई ल्याउन चाहेपनि आइसिसीले पटुवाल, चटर्जी र कुलकर्णीको नाम पठाएको थियो।
५१ वर्षीय कुलकर्णी भारतका पहिलो श्रेणीका पूर्व क्रिकेट खेलाडी हुन्। मुम्बाई क्रिकेट टिमबाट उनले १९८५ देखि २००२ सम्म खेलेका थिए। विकेटकिपर ब्याट्सम्यान उनी जुनसुकै पोजिसनमा ब्याटिङ गर्न सक्थे।
१८ वर्षको उमेरमा रेलवेज टिमबाट डेब्यु गरेका उनी पछि मुम्बई टिममा आवद्ध भए। उनले सन् १९९७ मा मुम्बई टिमबाट साउराष्ट्र क्रिकेट टिमबिरुद्ध ४ सय ५९ रनको ओपनिङ साझेदारी गर्दै सबैको ध्यान खिँचेका थिए। खेलमा उनी २ सय ३९ रनमा आउट भएका थिए। उनले रणजी ट्रफीमा पाँच फरक टिमबाट ६५ खेल खेलेका थिए।
सन् २००२ मा सन्यासपछि उनले मुम्बईको यू–१९ टिममा ३ वर्ष प्रशिक्षक भएर काम गरे। त्यसपछि उनी सन् विदर्भ क्रिकेट टिमको प्रशिक्षक बने। सन् २०११ मा उनी मुम्बइ क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेका थिए। उनको प्रशिक्षणमा मुम्बईले सन् २०१३ मा रणजी ट्रफी जितेको थियो। तर सन् २०१४ मा क्वार्टरफाइनलबाट बाहिरिएपछि उनी मुम्बइको प्रशिक्षकबाट बर्खास्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।