एजेन्सी- पउल पोग्बाबाट प्रभावित म्यानचेस्टर युनाइटेडले स्टोक सिटीमाथि सहज जित निकालेको छ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत आफ्नै घरेलु मैदान ओल्ड ट्राफडमा भएको खेलमा म्यानेजर पउल लाम्बर्टको नयाँ टोलीमाथि युनाइटेडले ३–० को जित निकालेको हो।
फ्रान्सका डिफेन्डरद्वय एन्टोनियो भ्यालेन्सिया र एन्थोनी मार्सेलले पहिलो हाफमा गरेको १/१ गोलमा स्ट्राइकर रोमेलु लुकाकुले दोस्रो हाफमा अर्को एक गोल थपेपछि युनाइटेडले लिग लिडर म्यानचेस्टर सिटीसँगको अंक दुरी १२ मा झारेको छ।
खेल सुरु भएको सातौँ मिनेटमा स्टोक सिटीबाट पहिलो खेल खेलिरहेका मोरिट्ज बायुरले डिबक्स एरियाभित्र युनाइटेडका मार्सेललाई लडाए पनि रेफ्रीले पेनाल्टी दिएनन्। त्यसको ठिक २ मिनेटपछि नै स्ट्राइकर पोग्बाको सुन्दर पासलाई सदुपयोग गर्दै भ्यालेन्सियाले हानेको प्रहार गोलमा परिणत भयो।
पहिलो हाफको ३८ मिनेटमा पोग्बाले नै सिर्जना गरेको अवसरलाई सदुपयोग गर्दै गोलपोस्टको करिब २० यार्ड नजिकबाट मार्सेलले टोलीका लागि अर्को गोल थपे।
पहिलो हाफ पूरापूर आफ्नो नियन्त्रणमा राखेको युनाइटेडका लागि दोस्रो हाफ पनि त्यति कष्टकर बनेन। दोस्रो हाफको ७२ मिनेटमा लुकाकुले अर्को गोल थपेपछि म्यान्यु ३–० ले विजयी भयो।
खेलका दौरानमा गोल गर्ने केही सुन्दर अवसर सिटीका खेलाडीले खेर फाले। उता सिटीका गोलकिपर ज्याक बटल्यान्डले म्यान्युका केही प्रहाराई गोल हुनबाट बचाएका थिए।
योसँगै सिजनमा सिटीले सातौँ पटक ३ वा सोभन्दा बढी गोल अन्तरले विपक्षी टोलीलाई खेल सुम्पेको छ।
यो खेलसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटी २३ खेलबाट ६२ अंक जोड्दै अंक तालिकाको पहिलो स्थानमा कायम छ। दोस्रो स्थानको युनाइटेडले समान खेलबाट ५० अंक बनाएको छ।
क्रमशः तेस्रो र चौथौँ स्थानमा रहेका लिभरपुल र चेल्सीको समान ४७ अंक छ। २३ खेलबाट २० अंक मात्रै जोडेको स्टोक सिटी पुछारबाट तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।