काठमाडौं– टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत आज नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण प्रभावित भएको छ। सिंगापुरको इन्डियन एसोसियसन मैदानमा हुने भनिएको खेलमा वर्षा बाधक बनेकोले हालसम्म टस हुन सकेको छैन।
स्थानीय समयानुसार बिहान ९ः३० (नेपाली समय बिहान ७ः३०)मा खेल हुने तय भए पनि बिहानैदेखि वर्षा भएका कारण खेल सुरु हुन नसकेको हो।
नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। नेपालले दोस्रो खेलमा चिपरिचित प्रतिद्वन्द्वि मलेसियाको सामना गर्दैछ।
पानी नरोकिएमा खेल बराबरी हुनेछ। जसले गर्दा मंगलबार कतारसँगको ४ विकेटको हार नेपालका लागि महँगो सावित हुनेछ। मलेसियासँग अंक बाढ्नु पर्ने भएमा नेपाल प्रतियोगितामा अगाडि बढ्ने गणितीय सम्भावना मात्र रहन्छ। त्यसका लागि पनि मलेसियाले यसपछिको एक खेल हार्नुपर्ने हुन्छ।
प्रतियोगिताको दाबेदार मानिएको नेपालले सिंगापुर जानुअघि मलेसियासँग भएको मैत्रीपूर्ण शृंखला 'क्लिनस्विप' गरेको थियो। यसकारण पनि खेल सुरु हुन सकेमा नेपालका लागि मलेसियाविरुद्ध खेल्न केही सहज हुने अनुमान गरिएको छ।
यद्यपि कतारसँग नेपालले कमजोर ब्याटिङ गरेको भन्दै पूर्वखेलाडी, पूर्वप्रशिक्षक एवम् प्रशंसकहरुबाट आलोचना भएको थियो। कतारविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेर नेपालले सबै विकेट गुमाएर १ सय २२ रन मात्रै जोड्न सकेको थियो। कतारले १ सय २३ रनको सामान्य लक्ष ६ विकेटको क्षतिमा ४ बल अगावै भेट्टाएको थियो।
मलेसियाले २ खेलमा १ मा जित र १ मा हार बेहोर्दै अंकतालिकाको दोस्रो स्थानमा छ। नेपाल आफ्नो खेलमा हार बेहोर्दै अन्तिममा छ।
जारी एसियाली छनोटको फाइनल चरणको प्रतियोगिता जित्ने टोली टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।
चोटका कारण पारस टिमबाहिर
नेपाली टिमका कप्तान पारस खड्का मंगलबार कतारसँगको खेलमा ढाडमा समस्या देखिएपछि फिल्डिङ अवधिभर टिम बाहिर थिए। उनको स्थानमा पवन सर्राफले फिल्डिङ गरेका थिए।
चोटकै कारण पारसले मलेसियासँगको खेल गुमाउने भएका छन्। टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने भएका छन्।
नेपालले तेस्रो खेल शनिबार कुवेतसँग र अन्तिम खेल आइतबार सिंगापुरसँग खेल्नेछ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।