लन्डन- कन्जरभेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा मङ्गलबार विजय प्राप्त गरे। यससँगै उनी बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ। बेलायतमा बुहमतप्राप्त दलको नेता नै प्रधानमन्त्री हुने प्रचलन छ।
कन्जर्भेटिभ दलका लगभग १ लाख ६० हजार सदस्यले निर्वाचनमा भाग लिएका थिए। वर्तमान विदेशमन्त्री जेरेमी हन्ट उनका प्रतिस्पर्धी थिए। पाचौं चरणसम्म भएका निर्वाचनमार्फत् अन्तिम दुई जना चुनिएका थिए।
नेता जोनसनको जन्म सन् १९६४ जुन १९ मा अमेरिकाको न्युयोर्क सहरमा भएको थियो।
सन् १९८३ मा एटन कलेजमा विद्यालयस्तरको शिक्षा प्राप्त गरी अक्सफोर्ड बालिओल कलेजबाट ४ बर्षपछि स्नातक पास गरे। जोनसनले सन् १९८७ देखि करिब दुई वर्ष 'द टाइम्स' पत्रिकामा कामसमेत गरेका थिए।
जोनसनले सन् १९८९ देखि १९९४ सम्म 'टेलिग्राफ'को युरोपेली संघको सम्वाददाताका रूपमा तथा सन् १९९९ देखि २००५ सम्म 'द स्पेक्टेटर' नामक खबर पत्रिकामा समेत अनुभव बटुले। तर, सन् २००१ मा नै उनी लन्डन नजिकैको हेन्ली क्षेत्रबाट संसद् सदस्य बने। उनी सन् २००५ मा उक्त क्षेत्रबाट पुनः निर्वाचितसमेत भएका थिए।
सन् २००८ मा विपक्षी नेता केन लिभिङ्सटनलाई पराजित गर्दै लन्डनको नगर प्रमुख (मेयर) बने। उनी सन् २०१२ मा पनि लन्डनको मेयरका रूपमा निर्वाचित भएका थिए।
सन् २०१५ मा अक्सब्रिज र साउथ रस्लिप क्षेत्रबाट संसद्मा प्रतिनिधित्व गरेका उनी सन् २०१७ मा पनि सोही क्षेत्रबाटै निर्वाचित भएका थिए।
सन् २०१६ मा भएको ब्रेक्जिटको पक्षमा मतदान गरेका बेलायतीहरूलाई सक्रिय अभियानका साथ नेतृत्व गरेका उनले तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरूनको राजीनामापछि भएको सरकारमा विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। तर, प्रधानमन्त्री थेरेसा मेका ब्रेक्जिटसम्बन्धी रणनीतिप्रति विमति राख्दै सन् २०१८ जुलाई ९ मा राजीनामा दिए।
जोनसनले सन् २०१९ को जुलाई २३ अर्थात् मङ्गलबार प्रधानमन्त्री मेको स्थानमा पार्टी नेताको जिम्मेवारीका लागि निर्वाचित बनेका हुन्। उनले बुधबार महारानी एलिजावेथ द्वितीयसँगको भेटघाट र औपचारिक समारोहबीच बेलायती प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने कार्यक्रम तय भएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।