काठमाडौं– पाँचौं नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले जित हात पारेको छ। नेपालले सोमबार दुबईमा भएको खेलमा अस्ट्रेलियामाथि ८ विकेटको जित हात पारेको थियो।
अजमानको एमसिसी क्रिकेट ग्राउन्डमा टस जितेर अस्ट्रेलियाले दिएको २ सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले २२ बल खेल्न बाँकी छदा २ विकेट गुमाएर पार गर्यो। नेपालको जितमा पदम बडेलाले नटआउट १ सय २५ रन जोड्यो। उनले ७६ बलमा १४ चौका प्रहार गरे। यस्तै बद्री चौलागाईले नटआउट ३५ रन जोडे। नेपालका ओपनिङ जोडी रमेश बानियाँ ४७ रन र खिमानन्द गैरी १७ रनमा जोडे।
पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ३६.२ ओभरमा २ सय ९६ रनमा अलआउट भयो। अस्ट्रेलियाका स्टेफन नेरोले ६३ रन र म्याट क्यामरुनले ६२ रन जोडे। ड्यानिएल प्रिचार्ट पनि ४० रन बटुले। नेपालका लागि दुर्गादत्त पौडेलले ३ विकेट लिए। शतक प्रहार गरेका पदम बडेला म्यान अफ दी म्याच घोषित भए।
यसअघि नेपाल लगातार चार खेलमा पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।