काठमाडौं– आगामी मार्चमा जिम्वाबेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सोमबार समूह विभाजनसहित खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता ४ मार्चमा सुरु भएर २५ मार्चमा सकिनेछ।
छनोट प्रतियोगितामा १० टिमले भाग लिँदैछन्। १० मध्ये २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपमा छनोट हुनेछन्।
समूह विभाजन यस्तो छ :
समूह ए – वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र डिभिजन २ को विजेता
समूह बी – अफगानिस्तान, जिम्वाबे, स्कटल्यान्ड, हङकङ र डिभिजन २ को उपविजेता
पहिलो चरणमा दुई समूहमा लिग खेल हुनेछ। दुवै समूहका शीर्ष ३–३ टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्। शीर्ष २ टिम विश्वकपमा छनोट हुनेछन्।
नेपालको के छ सम्भावना?
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारमा पर्न नसकेपछि नेपालले सिधै छनोट प्रतियोगिता खेल्ने अवसर गुमाएको थियो। च्याम्पियनसिपमा सातौं स्थानमा सीमित बनेपछि नेपाल आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ झरेको थियो।
नेपालले आगामी फेब्रुअरी दोस्रो सातादेखि नामिबियामा सुरु हुने डिभिजन २ मा प्रतिस्पर्धा गर्दैछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्दैछन्। डिभिजन २ मा कम्तिमा शीर्ष २ भित्र पर्न सके मात्र नेपाल एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। विजेता बन्न सके नेपाल एकदिवसीय विश्वकप छनोटको समूह एमा पर्नेछन्। उपविजेता बने समूह बीमा पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।