धनगढी– त्रिभुवन आर्मी क्लबले सिजनको चौथो उपाधि जितेको छ। आर्मीले सोमबार धनगढी रंगशाला सम्पन्न सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको हो।
यसअघि आर्मीले मंसिरमा दुई उपाधि जितेको थियो। आर्मीले तेस्रो उपाधिको रुपमा काँकडभिट्टा गोल्ड कपको उपाधि जितेको थियो। त्यसबेला आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै उपाधि उचालेको थियो। आर्मीले सिजनको दोस्रो उपाधि पनि झापामै जितेको थियो। आर्मीले शिव सताक्षीमा गोल्डकपमा पनि मनाङ नै पराजित गर्दै उपाधि उचालेको थियो। सिजनको पहिलो उपाधि भने आर्मीले वैशाखमा वीरगञ्जको विशाल मेमोरियल गोल्डकप जितेको थियो।
सोमबार एपिएफलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा एपिएफका सुदिप शिख्राकार गोल गर्न चुक्दा आर्मीले बाजी मारेको हो। उपाधिसँगै आर्मीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो भएको एपिएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो।
आर्मीका कप्तान भरत खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मोटरबाइक जित्न सफल भए। आर्मीका विशेक कुथु उत्कृष्ट गोलकिपर, टोप विष्ट उत्कृष्ट डिफेन्डर, सन्तोष तामाङ उत्कृष्ट फरवार्ड र अमनाथ शिख राइजिङ प्लेयर घोषित भए। उत्कृष्ट भएका सबैले जनही १५-१५ हजार नगर पुरस्कार पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।