काठमाडौं- कवि गोपालप्रसाद रिमालले राणाकालमै लेखेको कालजयी कविता ‘रातो र चन्द्रसूर्जे जंगी निशान हाम्रो’ संगीतबद्ध भएको केही दसकपछि अब म्युजिक भिडियोका रुपमा प्रस्तुत भएको छ।
यस कवितालाई निकैपछि अम्बर गुरुङले वीररसमा संगीतबद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए। उतिबेलै गुरुङ र अर्का गायक फत्तेमानको स्वर समेटेर रेडियो नेपालमा यसको रेकर्ड गरिएको थियो।
नेपाली झन्डाको महिमा गाउने क्रममा हाम्रो गौरवमयी इतिहास र गाथा बयान गर्ने यो गीतलाई पछिल्लो समय लोक रक ब्यान्ड नेपथ्यले गाउँदै आएको छ।
‘पुरानै गीतलाई हाम्रो थप प्रयास स्वरुप नयाँ एरेन्जमेन्टले सजाएपछि स्रोताहरुलाई सुनाउँदै आएका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘सन् २००२ यता ब्यान्डका हरेकजसो कन्सर्टमा नछुटाईकन यो गीत प्रस्तुत हुने गरेको छ।’
संगीतकार एवं गायक अम्बर गुरुङबाट यस गीतलाई गाउने आधिकारिक अनुमति ब्यान्डले प्राप्त गरेपछि केही वर्षअघि तयार भएको नेपथ्यको एल्बम ‘मेरो देश’ मा यसलाई समेटिएको थियो।
त्यसैगरि ९ वर्षअघि नेपाली सेनाले यस गीतलाई ‘सैनिक गीत’ बनाउने निधो गरेपछि उसका प्रत्येक जस्तो औपचारिक कार्यक्रममा यो धुन बजाउँदै आइरहेको छ।
‘म्युजिक भिडियोमा नेपथ्य ब्यान्डकै लाइभ कन्सर्टका दृश्यहरुलाई संयोजन गरिएको छ,’ ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘गीत गाउँदा दर्शकहरुमा देखिएको उत्साह र ऊर्जाले नै शब्दको शक्ति देखाउने भएकाले यस्तो निर्णय लिएका हौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।