काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित न्यायाधीशहरुले तोकिएको तलब–भत्ताबाहेक अतिरिक्त ५० प्रतिशत भत्ता पाउने भएका छन्।
तोकेको भन्दा अतिरिक्त समय काम गरेको भन्दै सरकारले न्यायाधीशहरुलाई अतिरिक्त प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो।
सर्वोच्चमा मंसिरदेखि बिहान ९ बजेबाट इजलास सञ्चालन भएकाले अत्तिरिक्त भत्ता दिनुपर्ने भन्दै कानुन मन्त्रालयले पेश गरेको प्रस्ताव स्वीकृत गर्दै सरकारले भत्ता रकम दिन लागेको हो। गत कात्तिक ७ गते मन्त्रालयले अतिरिक्त भत्ता दिने प्रस्ताव गरेको थियो।
हाल सर्वोच्चमा प्रधानन्यायाधीशसहित २० जना स्थायी न्यायाधीश कार्यरत छन्। संविधानमा सर्वोच्च अदालतमा २१ जना स्थायी न्यायाधीश हुने उल्लेख छ। तत्कालीन व्यवस्थापिका संसद्ले गत असोजमा सर्वोच्चका न्यायाधीशहरुको तलब–भत्ता र सेवा–सुविधा सम्बन्धी ऐन पारित गरेको थियो। उक्त ऐन राष्ट्रपतिले प्रमाणीकरण भई लागू भएको छ।
सरकारले थप भत्ता दिने निर्णय पारित गरेसँगै उक्त रकम तलब सुविधामा थपिने भएको हो।
सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय सरकारले उचित ठहर गरेर अतिरिक्त भत्ताको निर्णय गरेकाले गलत नभएको तर्क गर्छन्। मंसिरदेखि बिहान ९ बजे न्यायाधीशहरु सर्वोच्च उपस्थित भएको र मुद्दा फर्स्यौटमा सुधार भएको उनको दाबी छ।
कानुन मन्त्रालयले 'कार्यालय समयभन्दा अघिपछि पनि कार्यसम्पादन गर्ने हुनाले कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता उपलब्ध गराउन आवश्यक भएको' उल्लेख गरे पनि सर्वोच्चको इजलास भने बिहान १० बजे मात्र खुल्ने गरेको छ।
सर्वोच्चका कर्मचारीहरु पनि सामान्यतया १० बजेअघि इजलास सञ्चालन नहुने भएकाले अतिरिक्त भत्ता दिनु गलत भएको बताउँछन्।
ऐनमा न्यायाधीशलाई कस्तो छ सेवा–सुविधाको व्यवस्था?
पारित ऐनले प्रधानन्यायाधीशको मासिक तलब ७३ हजार ६ सय ८० रुपैयाँ तोकेको छ। ऐनले विशेष भत्ता मासिक १ हजार, लुगा भत्ता वार्षिक १० हजार रुपैयाँ दिने व्यवस्था गरेको छ। आवास, बिजुली, धारा, टेलिफोन शुल्क बिलबमोजिम सरकारले तिर्ने र मासिक २ सय ५० लिटर इन्धनको व्यवस्था ऐनमा गरिएको छ।
सर्वोच्चका न्यायाधीशका लागि मासिक भत्ता ६० हजार ९ सय ७० रुपैयाँ हुने ऐनमा उल्लेख छ। उनीहरुले आवास सुविधा, घर मर्मतसम्भारका लागि उनीहरुले १२ हजार ३ सय ४ रुपैयाँ पाउनेछन्।
अहिले पाउँदै आएको भत्ता रकममा प्रधानन्यायाधीश र न्यायाधीशहरुले थप ५० प्रतिशत अतिरिक्त भत्ता पाउने भएका हुन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।