काठमाडौं– आगामी महिना नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ क्रिकेट प्रतियोगिताका लागि क्यानडाले राष्ट्रिय टिम घोषणा गरेको छ।
क्यानडाले नितिश कुमारको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो। क्यानडाको टिममा हाम्जा तारिकले विकेटकिपिङ गर्नेछन्। टिममा भाविन्दु अधिकहेटी, साद विन जाफर, नाभनित धलिवाल, सस्तीमन्जित धिन्सा, निखिल दत्त, रुविभन्दु गुनसेकेरा, डिलोन हेलिङगर, निकोलास किर्टोन, धनुस्का पथिराना, सेसिल पेर्भेज, जुनइद सिद्धिकी र श्रीमन्था विजेयेरत्ने छन्।
क्यानडाको प्रशिक्षकमा इन्गेल्टन लिवुर्ड छन्। ट्रिनिडाडमा जन्मिएका उनी क्यानडाका पूर्व खेलाडी हुन्। सहायक प्रशिक्षकमा हेनरी ओसिन्डे छन् भने डाउलात खान विश्लेषकको रुपमा क्यानेडियन टिममा आबद्ध छन्।
क्यानडाले अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्दैछ। टिम क्यानडा जनावरी २५ मा दक्षिण अफ्रिका पुग्ने क्रिकेट क्यानडाले जनाएको छ। त्यसअघि क्यानडाले बार्बडोसमा एक साता अभ्यास गरेको थियो। त्यसक्रममा उनसले स्थानीय टिमसँग अभ्यास खेल खेलेको थियो।
नेपालले भने तग मंगलबारबाट प्रशिक्षण सुरु गरेको थियो। पहिलो चरणको तयारीमा २१ खेलाडी सहभागी छन्। नेपालमा १५ दिन प्रशिक्षण गरेपछि २१ खेलाडीबाट राष्ट्रिय टिम घोषणा गरिनेछ। त्यसपछि नेपालले अन्तिम तयारी विदेशमा गर्नेछ। नेपालले दक्षिण अफ्रिका र दुबईमा वैदेशिक प्रशिक्षण गर्न आइसिसीसँग प्रस्ताव गरेको प्रशिक्षक जगत टमाटाले बताएका थिए। विदेशमा कम्तीमा ३ वटा अभ्यास खेल खेलेपछि नेपाल नामिबिया प्रस्थान गर्नेछ।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरी ६ देखि १६ सम्म हुँदैछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले खेल्नेछन्। डिभिजन–२ का शीर्ष २ टिम विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।
नेपालसहित युएई, नामिबिया र केन्या विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपबाट शीर्ष ४ मा पर्न नसकेपछि डिभिजन–२ मा झरेका हुन्। क्यानडा र ओमान भने डिभिजन–३ बाट उक्लिएका टिम हुन्।
नेपालको पहिलो चरणको टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, करण केसी, ज्ञानेन्द्र मल्ल, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, रोहित कुमार पौडेल, रसिद खान, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषावकर, सिद्धान्त लोहनी, सोमपाल कामी, सुनील धमला, सुशन भारी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।