म्याड्रिड- स्पेनिस महारथी क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले युरोपियन फुटबलमा अर्को रेकर्ड बनाएका छन्। सोमबार विहान सम्पन्न खेलमा रियल सोसिडाड विरुद्ध गोल गरेका मेसीले पहिलो श्रेणीको युरोपियन लिगमा बढी गोल गर्ने रेकर्ड बनाएका हुन्।
रियल सोसिडाडविरुद्ध गोल गरेसँगै मेसीले ला लिगामा गोल संख्या ३ सय ६६ पुर्याएका हुन्। ला लिगामा बढी गोल गर्ने खेलाडी मेसी अब युरोपियन लिगमै बढी गोल गर्ने खेलाडी पुगे। यसअघि जर्मनीका गर्ड मुलरले सन् १९६४ देखि १९७९ सम्म बुन्डेस लिगाका खेल खेल्दै ३ सय ६५ गोल गरेका थिए। उनले ४ सय २७ बुन्डेस लिगाका खेल खेलका थिए। मेसीले भने ४ सय १ ला लिगा खेल खेल्दै ३ सय ६६ गोल गरेका हुन्। मेसीले सिजनमा १६ गोल गरिसकेका छन्।
मेसीले रेकर्ड गोल गरेको खेलमा बार्सिलोनाले २-० गोलले पछि परेको नजिता उल्टाउदै जित हात पारेको थियो। बार्सिलोनाले सोमबार विहान सकिएको खेलमा रियल सोसिडाडलाई ४-२ गोलले पराजित गरेको हो।
खेलको एघारौं मिनेटमा डा सिल्भाले गोल गरेर सोसिडाडलाई अग्रता दिलाए। ३४ मिनेटमा जुआमीले गोल गरेपछि सोसिडाड २-० ले अघि बढ्यो। ३९ मिनेटमा पाउलिन्होले गोल गर्दै सोसिडाडको अग्रता २-१ मा झारे।
दोस्रो हाफमा लयमा फर्किएको बार्सिलोनाका लागि लुइस सुआरेजले ५० मिनेटमा बराबरी गोल फर्काए। ७१ मिनेटमा सुआरेजले अर्को गोल गरेपछि बार्सिलोनाले खेलमा अग्रता लियो। खेल सकिन ५ मिनेट बाँकी छदा लिओनल मेसीले बार्सिलोनाका लागि चौथो गोल गरेका थिए।
लिगको शीर्ष स्थानको बार्सिलोनाको १९ खेलबाट ५१ अंक छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४२ र तेस्रो स्थानको भ्यालेन्सियाको ४० अंक छ। १ खेल कम खेलको साविक विजेता रियल म्याड्रिडको ३२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।