काठमाडौं– नेपालले कतारलाई १ सय २३ रनको लक्ष्य दिएको छ। टी-२० विश्वकपको एसियाली छनोटको अन्तिम चरणमा प्रतिस्पर्धा गर्न सिंगापुर पुगेको नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै कतारविरुद्ध सबै विकेट गुमाउँदै १ सय २२ रनको योगफल खडा गरेको हो।
सिंगापुरको इन्डियन एसोसियसन मैदानमा भइरहेको खेलमा नेपालले सटिक सुरुवात गरेको थियो। २ अनुभवी ब्याट्सम्यान कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए।
पारसले २८ रन बनाउँदा ज्ञानेन्द्र २३ रनमा पेवेलियन फर्किए। पारसको पारीमा ४ चौका र १ छक्का तथा ज्ञानेन्द्रको पारीमा २ चौका र १ छक्का सामेल थियो। प्रारम्भिक जोडी पेवेलियन फर्किएपछि नेपालले लगातार अन्तरमा विकेट गुमाएको थियो।
नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए। मध्यक्रममा सरद भेसवाकर (७ रन) र सोमपाल कामी (११ रन)मा आउट भएपछि दीपेन्द्रमाथि दबाब बढेको थियो। उनले ३५ बलको सामना गर्दा १ चौका र १ छक्का मात्रै प्रहार गर्न सके। घाइते भएका कारण मलेसियासँगको मैत्रीपूर्ण क्रिकेट शृंखला गुमाएका उनले आजको खेलमा जिम्मेवारी पूर्ण ढंगबाट ब्याटिङ गरेका थिए।
मलेसियाविरुद्ध विस्फोटक अर्धशतक प्रकार गरेका विनोद भण्डारी आजको खेलमा भने ३ रनमै समेटिए। करण केसी ४ रनमा आउट हुँदा सन्दीप लामिछाने ९ रनमा रनआउट हुन पुगे।
कतारका नोमन सरवार, इकवाल हसन र तमोर साजदले समान २/२ विकेट हात पारे। इनाम उलको नाममा १ विकेट रह्यो।
सोमबारबाट सुरु भएको प्रतियोगितामा नेपालले आज पहिलो खेलमा कतारको समना गरिरहेको छ। कतार केहीबेरमा नेपालले दिएको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिनेछ।
नेपालले दोस्रो खेल बुधबार मलेसियासँग, तेस्रो खेलमा शनिबार कुवेतसँग र अन्तिम खेलमा आइतबार सिंगापुरसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।