लहान- पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र ४ महिलासहित ५ जनाको मृत्यु भएको छ।
चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका–६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु हुनेको संख्या ५ जना पुगेको हो।
गत शुक्रबार सोही वडाकी ६२ वर्षीया सीमादेवी साह र बुधबार ५२ वर्षीय विश्वनाथ साह, ७० वर्षीया रुनादेवी सदा र ७२ वर्षीया रामसुनैर साहको मृत्यु भएको सो वडाका वडाध्यक्ष जगदिश महतोले जानकारी दिए।
अत्यधिक चिसोका कारण आइतबार सिरहाको लहान नगरपालिका–६ मा पनि एक महिलाको मृत्यु भएको छ। कठ्यांग्रिएर लहान नगरपालिका–६ निवासी ६५ वर्षीया सीतादेवी भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।
योसँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। यसअघि गत मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुर निवासी ४१ वर्षीया माकोदेवी पासवान, कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी ५ वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियो।
चिसोकै कारण गत साता सिरहाको गोलबजार नगरपालिका–४ निवासी शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७ कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो।
अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरिया लगायतका बिरामी बढेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।