वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच सोमबार भेटवार्ता हुने भएको छ।
उनीहरुबीच मुख्य गरेर अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्धका बारेमा छलफल हुने तय भएको अधिकारीहरूले जनाएका छन्।
अमेरिकाले अफगानी सरकार र विद्रोही तालिवान लडाकूबीचमा शान्ति सम्झौता गराउन चाहेकाले खानसँग ट्रम्पले अफगान युद्धका बारेमा छलफल गर्न लागेका हुन्।
चर्चित पूर्व क्रिकेट खेलाडीसमेत रहेका पाकिस्तानी प्रधानमन्त्री खान सोमबार पहिलो पटक प्रधानमन्त्रीका रूपमा ह्वाइट हाउस प्रवेश गर्न लागेका हुन्।
अमेरिकी राष्ट्रपति ट्रम्पका वरिष्ठ अधिकारीहरूले अफगानिस्तानमा शान्ति वार्ता अगाडि बढाउनका लागि पाकिस्तानबाट सहयोगको वातावरण बनाउन यो भ्रमण उपलब्धिमुलक हुने अपेक्षा गरिएको बताएका छन्।
उनले अमेरिकी केही मन्त्री, सांसदलगायतका सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्।
पाकिस्तानी प्रधानमन्त्री खान तीन दिने भ्रमणका लागि आइतबार अमेरिका आइपुगेका हुन्। आफ्ना विदेशमन्त्री, सेना प्रमुखसहितको टोलीका साथ खान विमानस्थलबाट बाहिरिएपछि रेल चढेर गन्तव्यतर्फ लागेका थिए।
उनी पाकिस्तानी एयरफोर्सको विमानसमेत प्रयोग नगरी नियमित उडानबाट अमेरिका आइपुगेका हुन्।
खानले मुलुकको आर्थिक सङ्कट न्यूनिकरणका लागि फजुल खर्च जोगाउने अभियान थालेका छन्। प्रधानमन्त्री खानले पद सम्हालेलगत्तै अत्यधिक सुविधा सम्पन्न सरकारी निवासमा नबस्ने घोषणा गरेका थिए।
फजुल खर्च नियन्त्रण गर्ने र सादा जीवनशैली अपनाउने खानका पछिल्ला कदमहरूको विश्वभरी प्रशंसा भइरहेको छ। रासस/एएफपी/फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।