भियना- संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय आणविक शक्ति संगठन (आइएइए) का महानिर्देशक युकिया अमानोको निधन भएको उक्त सङ्गठनले सोमबार जानकारी गराएको छ। उनी ७२ वर्षका थिए।
संयुक्त राष्ट्र सङ्घ आणविक संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'अन्तर्राष्ट्रिय आणविक शक्ति संगठन सचिवालय संगठनका महानिर्देशक युकिया अमानोको दुःखद निधनको खबरले स्तब्ध भएको छ।'
जापानी भूमिमा जन्मिएका अमानो राष्ट्र सङ्घअन्तर्गतको आणविक हतियार नियमनकारी निकाय (आइएइए)को प्रमुखका रूपमा सन् २००९ देखि मृत्युपर्यन्त निरन्तर तीन कार्यकालसम्म कार्यरत रहे।
आइएइएमा उनकै नेतृत्व रहेका समय संसारकै लागि महत्वपूर्ण मानिएको इरानसँगको आणविक सम्झौता भएको थियो। आइएइए प्रमुखका रूपमा अमानोले नै इरानसँगको आणविक सम्झौता (इरानसँगको आणविक हतियारसम्बन्धी संयुक्त वृहद कार्ययोजना–२०१५)लाई प्रमाणीकरण र नियमन गरेका थिए।
भूतपूर्व अमेरिकी राष्ट्रपतिको पहलमा बेलायत, चीन, रूस, फ्रान्स, जर्मनीसहित ६ शक्ति राष्ट्रहरू र युरोपेली युनियन, इरान उक्त सम्झौताका हस्ताक्षरकर्ता रहेका थिए। वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै गत वर्षदेखि अमेरिका सम्झौताबाट फिर्ता भएको थियो।
विज्ञप्तिमा भनिएको छ, 'अमानोको नेतृत्वमा विगत एक दशकसम्म राष्ट्रसंघीय उक्त आणविक निकायले शान्ति र विकासका लागि आणविक शक्तिको निर्माण भन्ने उद्देश्य अनुरूप ठोस नतिजा प्राप्त गर्न सफलता पाएको थियो।' आइएइएले अमानोको मृत्युको समय र कारणबारे केही उल्लेख गरेको छैन।
कूटनीतिक स्रोतहरूले बुधबार दिएको एक जानकारीमा अमानोको कार्यकाल सन् २०२१ सम्म रहेको भए पनि स्वास्थ्यको कारण सन् २०२० को मार्चसम्म पदबाट हट्ने योजना बनाएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।