लन्डन- इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटी सिजनमा पहिलो पटक पराजित भएको छ। सिटीलाई आइतबार राति भएको खेलमा लिभरपुलले ४-३ गोलले पराजित गरेको हो।
खेलको नवौं मिनेटमा एलेक्स ओक्सलेड चाम्बलियनले गोल गरेर लिभरपुललाई अग्रता दिलाए। पहिलो हाफ सकिन ५ मिनेट बाँकी छदा लिरोए सानेले गोल गरेपछि म्यानचेस्टर सिटीले पहिलो हाफमा १-१ गोलको बराबरीमा टुंग्याउन सफल भयो। ५९ मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई २-१ गोलले अघि बढाए। दुई मिनेटपछि साडियो मानेले अर्को गोल गरेपछि लिभरपुलले खेलमा दबाब बढाएको थियो। दुई मिनेटभित्र २ गोल गरेको लिभरपुलका लागि ६८ मिनेटमा मोहमद सलाहले चौथो गोल गरेका थिए।
बेर्नान्डो सिल्भाले ८४ मिनेटमा गोल गरेपछि सिटीले लिभरपुलको अग्रता ४-२ मा झारेको थियो। इन्जुरी टाइमको पहिलो मिनेटमा इल्के गुन्डोगनले सिटीका लागि तेस्रो गोल गरेपनि खेलमा फर्कन ढिलो भइसकेको थियो।
हारका बावजुद सिटी २३ खेलबाट ६२ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले एक खेल कम खेल्दै ४७ र २३ खेलबाट ४७ अंक नै जोड्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ। चौथो स्थानको चेल्सीको पनि ४७ अंक नै छ। पाँचौ स्थानको टोटनह्यामको ४४ र छैटौं स्थानको आर्सनलको ३९ अंक छ।
आर्सनल आइतबार भएको खेलमा वर्नमाउथसँग २-१ ले पराजित भयो। आर्सनलका बेरेलिनले ५२ मिनेटमा गोल गरेर अग्रता दिलाए पनि विल्सनले ७० र इबेले ७४ मिनेटमा गोल गरेर वर्नमाउथलाई जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।