विश्वकप यात्रा : वरीयतामा अगाडि रहेको नेपाल कतारसँग सजग

नेपाल लाइभ | २०७६ श्रावण ६ सोमबार | Monday, July 22, 2019 २०:००:०० मा प्रकाशित

काठमाडौं– विश्वकपको एसियाली छनोटको फाइनल चरणमा प्रतिस्पर्धा गर्न नेपाली क्रिकेट टोली अहिले सिंगापुरमा छ। अस्ट्रेलियामा २०२० मा हुने टी–२० विश्वकप क्रिकेट खेल्न नेपालले अझै दुई चरण पार गर्नुपर्नेछ। नेपालसँगै मलेसिया, सिंगापुर, कुवेत र कतार रहेको छनोट प्रतियोगिताबाट एक टिम विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछन्।

नेपाली समयअनुसार मंगलबार बिहान ७ः१५ मा नेपालले पहिलो खेल कतारविरुद्ध खेल्दैछ। प्रतियोगिताका सबै खेल इन्डियन एसोसिएसन क्रिकेट मैदानमा हुनेछन्।

पहिलो खेल जित्दै बलियो मनस्थिति बनाउन टी–२० विश्व वरीयताको ११औं स्थानमा रहेको नेपालले २१औं स्थानमा रहेको कतारसँग सम्हालिएर खेल्नुपर्नेछ। अक्टोबर ११ देखि युएईमा हुने टी–२० विश्वकप छनोटमा पुग्न सिंगापुरमा नेपाली टोलीलाई दर्शकको साथ पनि रहनेछ। 

प्रतियोगितामा रहेका टोलीमध्ये एक मात्र एकदिवसीय मान्यता प्राप्त नेपाल टी–२० वरीयताका आधारमा पनि अगाडि छ। वरीयतामा नेपाल ११औं, कतार २१औं, सिंगापुर २३औं, कुवेत २९औं र मलेसिया ३५औं स्थानमा छन्। तयारी प्रतियोगिताका लागि मलेसियासँग दुई खेल खेल्दा देखिएका कमजोरी हेर्दा भने नेपालले सुधार गर्नुपर्ने ठाउँ निकै छन्। 

नेपालले बंगलादेशमा टी–२० विश्वकप खेलेको समय फर्काउन ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सजग रहनुपर्छ। दोस्रो पटक विश्वकप खेल्न नयाँ प्रशिक्षक उमेश पटवालको निगरानीमा रहेको टोलीमा सन्तुलन देखिए पनि टी–२० क्रिकेटमा ढुक्क हुन सक्ने स्थिति रहँदैन। पटवालले विशेष गरी ब्याटिङ लाइनमा गरेको परिवर्तन छनोट प्रतियोगितामा हेर्न लायक रहनेछ। 

मलेसियासँगको तयारी खेलमा कप्तान पारस खड्कालाई ओपनिङ ब्याटिङमा ल्याउँदा मध्यक्रम अझ बलियो बनेको थियो। पहिलो खेलमा प्रदीप ऐरीसँग ओपनिङमा आएका खड्काले ५० बलमा अविजित ८६ रन बनाएका थिए। दोस्रो खेलमा पवन सर्राफसँग ओपनिङमा आएका उनले १९ बलमा २३ रन बनाएका थिए। 

पारसको सुरुवाती ब्याटिङ चलेर मध्यक्रमका ब्याट्सम्यान ढुक्क भएर खेल्न पाए नेपाली टोलीको बलिङसँगै ब्याटिङ पनि हाबी हुनेछ। मध्यक्रममा ज्ञानेन्द्र मल्लको ब्याट चल्न नसकिरहेको भए पनि रोहित पौडेल, शरद भेषावकर, विनोद भण्डारीबाट आस गर्ने ठाउँ देखिन्छ। रोहितले अप्ठ्यारो परिस्थितिमा सम्हालिएर स्ट्राइक परिवर्तन गर्ने छन् भने शरद र विनोद लामा सट हान्न माहिर छन्। 

नेपाल र कतारबीच यसअघि दुई टी–२० खेलमा प्रतिस्पर्धा भएको थियो। जसमा नेपालले एक र कतारले एक खेल जितेको छ। पहिलो पटक २००७ मा एसिसी टी–२० कप प्रतिस्पर्धा हुँदा नेपाल ३ विकेटले हारेको थियो। पछिल्लो पटक २००९ मा एसिसी टी–२० मा भने नेपाल ६ विकेटले विजयी भएको थियो। 

नेपालले दोस्रो खेल बुधबार मलेसियासँग, तेस्रो खेलमा शनिबार कुवेतसँग र अन्तिम खेलमा आइतबार सिंगापुरसँग खेल्नेछ।