काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे संसद् बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहोर्याए।
विपी स्मृति जयन्तिको अवसर पारेर सहिद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पारे।
सभापति देउवाले विपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढ्दा मात्रै मुलुकमा समृद्धि आउने विश्वास व्यक्त गरे।
त्यस अवसरमा सभापति देउवाले विपी कोइरालाको बहुआयामिक व्यक्तित्वको पनि चर्चा गरेका थिए।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको स्मरण गरे। उनले विपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे।
कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि विपी कोइरालाले नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गराए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।