काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ। मंगलबार बस्ने भनिएको बैठक बिहीबार २ बजेका लागि सारिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसको नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखक छलफलका लागि बैठकमा उपस्थित हुन नसकेका कारण केन्द्रीय समिति बैठक सरेको समितिका सदस्य प्रदीप पौडेलले बताए।
कांग्रेसको नियमावली मस्यौदा समितिले प्रारम्भिक सदस्यतादेखि विभिन्न तहका कार्यसमितिले पार्टीलाई बुझाउनु पर्ने लेवी घटाएको छ। मस्यौदा समितिका सदस्य पौडेलले नियमावली संशोधन गरेर प्रारम्भिक सदस्यता शुल्क, क्रियाशील सदस्यता शुल्क, लेवीलगायतका पार्टीले लिने सबै प्रकारका शुल्कहरु घटाउने बाहेक अन्य कुनै पनि विषयमा सहमतिमा पुग्न नसकिएको जानकारी दिए।
'सहमतिका लागि धेरै विषयवस्तुहरु छन्। तर, छलफल नै भएको छैन,' समितिका सदस्य पौडेलले भने, 'सदस्यता लिँदाको लेबी घटाउने बाहेक सबै विषयहरुमा सहमति हुन बाँकी छ। मुख्यतया विधि तथा व्यवस्थाका बारेमा सहमति भएको छैन।'
उनले शुभेच्छुक संस्थाका बारेमा पहिले भएका केही व्यवस्था हटाउन तयार भए पनि आचारसंहितामा भएका कुराहरु कसरी लागू हुने भन्ने विषयमा समेत छलफल हुन बाँकी रहेको उनले जानकारी दिए।
यसअघि गत असार २२ गते बसेको केन्द्रीय समिति बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक लेखकले 'नेपाली कांग्रेसको नियमावली, २०७६’ प्रस्तुत गरेका थिए।
बैठक बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।