बिर्तामोड- नेपाल खेलकुद पत्रकार मञ्च झापाले झापा स्पोर्ट्स अवार्ड २०७३ का लागि मनोनयनमा परेका १२ खेलाडी र तीन क्लबको नाम सार्वजनिक गरेको छ।
मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी चार विधाका उत्कृष्ट तीन खेलाडी र तीन टिमलाई अन्तिम प्रतिस्पर्धाका लागि छानिएको जानकारी दिएको छ। मञ्चको प्रतिभा छनोट समितिका संयोजक पर्वत पोर्तेलले मनोनयनमा परेका खेलाडी र टिमको नाम घोषणा गरेका हुन्।
वर्षको उत्कृष्ट खेलाडी पुरुष स्पर्धामा विशाल राई (बी) र योगेश गुरुङ तथा बुद्धिचालका भूपेन्द्र निरौला मनोनयनमा परेका छन्।
यस्तै, वर्षको उत्कृष्ट खेलाडी महिला स्पर्धामा क्रिकेटकी रुविना क्षेत्री, करातेकी एस्तर राई र बक्सिङकी सुलप मगर मनोनयनमा परेका छन्।
युवा वर्ष खेलाडीतर्फ फुटबलका देवेन्द्र तामाङ र पुजन उपरकोटी र क्रिकेटकी सवनम राई उत्कृष्ट तीनमा छानिएका छन्। त्यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षकमा फुटबलका सञ्जय राई, क्रिकेटका मनोज कटवाल र करातेका सीता राई मनोनयनमा परेका छन्।
पिपुल्स च्वाइस अवार्डका लागि झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र बिर्तामोड युनाइटेड एफसीको नाम मनोनयनमा परेको छ।
मञ्चका अध्यक्ष रमेश समदर्शीले पूर्वी नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको स्पोर्ट्स अवार्डमा सबै विधा समावेश गर्ने प्रयास गरिए पनि सम्भव हुन नसकेको बताए। सोही कारण गत वर्ष भएका प्रतियोगिताबाट उत्कृष्टता हासिल गरेका विधा समेट्नुपर्ने प्रावधानका कारण क्रिकेट र फुटबलका धेरै खेलाडी मनोनयनमा परेको उनको भनाइ छ।
स्पोर्ट्स अवार्डमा विभिन्न विधाका ४ खेलाडी र एउटा टिमले नगद १५ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाउने छन्। जिल्लामा पहिलो पटक हुन लागेको अवार्ड कार्यक्रम माघ ७ गते बिर्तामोडमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।