काठमाडौं– भारतको बाह्य गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का भर्ना गरेको भन्दै नक्कली नियुक्तिपत्र दिई एक व्यक्तिले काठमाडौंका तीन सय भन्दा धेरै युवाहरुलाई ठगी गरेका छन्। मासिक ५० हजार भारु तलब हुने गरी रअको एजेन्टमा नियुक्त गरेको भन्दै नाटकीय शैलीमा ठगी गरिएको हो। 
ठगी गर्ने सप्तरीका रमाकान्त नौनियालाई महानगरीय अपराध महाशाखाले आइतबार पक्राउ गरेको छ। महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार जागिर लगाइदिएवापत ४ महिनाको तलब आफुलाई दिनुपर्ने भन्दै उनले ठगी गरेका हुन्। 
नियुक्तिपत्र दिएपछि सूचना संकलनका लागि उनले युवाहरुलाई विभिन्न एरिया तोकेर खटाएका समेत थिए। भारतीय दुतावासकै नक्कली लेटरप्याड बनाएर उनीहरुलाई नियुक्ति दिइएको थियो। 
पछि उनी सम्पर्क विहिन भएपछि रअको एजेन्टमा नियुक्त भएकाहरु प्रहरीमा पुगेका थिए। हालसम्म एक दर्जन उजुरी आएको र नौनियाले तीन सय भन्दा धेरै व्यक्तिहरुलाई त्यसरी ठगी गरेको देखिएको एसएसपी लोहनीले बताए। 
अभियुक्त नोनिया बैदेशिक रोजगारीमा कुबेत पुगेर फर्किएका व्यक्ति हुन्। उनलाई ठगी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।