तेहरान- इरानद्वारा कब्जामा लिइएको बेलायती तेल ट्याङ्करका सबै चालक दलका सदस्यहरू सुरक्षित र स्वस्थ रहेको इरानी अधिकारीलाई उद्धृत गर्दै यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ।
तेल ट्याङ्कर ‘स्टेना इम्पेरो’मा भएका सबै २३ जना चालक दलका सदस्य ‘सुरक्षित र स्वस्थ’ रहेको इरानी बन्दरगाह तथा सामुद्रिक सङ्गठनका प्रमुखले बताएका उक्त टेलिभिजनले जनाएको छ।
उक्त ट्याङ्करमा २३ चालक दलका सदस्य रहेका छन्। उनीहरूमध्ये १८ जना भारतीय नागरिक रहेको नयाँ दिल्लीले जनाएको छ।
बन्दर अब्वास बन्दरगाहबाट कब्जामा लिइएको ट्याङ्करमा १८ जना भारतीय नागरिकले काम गर्थे र उनीहरूलाई ट्याङ्करसँगै नियन्त्रणमा लिइएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बताए।
इरानी अधिकारीका अनुसार बेलायती ध्वजाबाहक ट्याङ्करले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुङ्गालाई ठक्कर दिएको र ‘अन्तर्राष्ट्रिय सामुद्रिक नियम’को उल्लङ्घन गरेको आरोपमा ट्याङ्करलाई कब्जामा लिइएको बताइएको छ।
इरानी सामुद्रिक इलाका हर्मुजको घाँटीबाट इरानी रिभोलुसनरी गार्डका सिपाहीले उक्त तेल ट्याङ्करलाई नियन्त्रणमा लिएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।