लन्डन– स्ट्राइकर ह्यारी केनले उत्कृष्ट लय कायम राख्दा इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले इभर्टनलाई ४–० गोलले पराजित गरेको छ।
केनले खेलको ४७ र ५९ मिनेटमा गोल गरेका थिए। त्यसअघि २६ मिनेटमा दक्षिण कोरियाली फरवार्ड सन हेउन मिनउले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए। टोटनह्यामका लागि चौथो गोल ८१ मिनेटमा एरिकसेनले गरेका थिए।
खेलमा २ गोल गरेसँगै २४ वर्षीय केन टोटनह्यामका लागि प्रिमियर लिग बढी गोल गर्ने खेलाडीको नवौं स्थानमा उक्लिएका छन्। उनले टेडी सेरिङघमलाई १ गोलले पछि पार्दै लिगमा ९८ गोल गरे।
केनले सिजनमा मात्र २० गोल गरिसकेका छन्। प्रिमियर लिगमा सिजनमा बढी गोल गर्ने खेलाडीको पहिलो स्थानम रहेका केनले पछिल्ला २८ खेलमा २८ गोल गरिसकेका छन्।
शनिबार भएका लिगका अन्य खेलमा चेल्सी र लेस्टर सिटीले गोलरहित बराबरी खेलेका छन्।
लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले २२ खेलबाट ६२ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको समान खेलबाट ४७ तथा एक खेल बढी खेलेको तेस्रो स्थानको चेल्सीको पनि ४७ अंक नै छ। चौथो स्थानको लिभरपुलको ४४ तथा एक खेल बढी खेलको टोटनह्यामको पनि ४४ अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।