काठमाडौं- ७७ जिल्ला र ६ महानगरपालिकामा इन्चार्ज टुंग्याएको नेपाल कम्युनिस्ट पार्टीले १९ जिल्लामा सह-इन्चार्ज टुंग्याउन सकेको छैन।
सोमबार बसेको सचिवालय बैठकले नेताहरूको व्यवस्थापनका लागि कतिपय जिल्लामा आधा दर्जन बढी नेतालाई सह-इन्चार्ज तोकेको छ। सह-इन्चार्ज नतोकिएका जिल्लाहरूमा ताप्लेजुङ, इलाम, धनकुटा, नुवाकोट, काभ्रे, प्युठान, कालिकोट रहेका छन्। साथै हुम्ला, डोल्पा, ओखलढुंगा, सप्तरी, चितवन, मनाङ,गुल्मी र दार्चुलामा सह-इन्चार्ज तोकिएको छैन। त्यसैगरी नवलपरासी पश्चिम,म्याग्दी, पर्वत र मुस्ताङमा पनि सह-इन्चार्ज तोकिएको छैन।
ताप्लेजुङमा भाष्कर काफ्ले, इलाममा धीरेन्द्र शर्मा, धनकुटामा हेमराज भण्डारी, नुवाकोटमा महेन्द्र पाण्डे, काभ्रेमा गोकुल बाँस्कोटा, प्युठानमा कृष्णध्वज खड्कालाई इन्चार्ज तोकिएको छ। कालिकोटमा महेन्द्र बहादुर शाही, हुम्लामा विजयी भण्डारी, डोल्पामा हंश बहादुर शाही, ओखलढुंगामा यज्ञराज सुनुवार, सप्तरीमा रामप्रित पासवान, चितवनमा कृष्ण खनाल, मनाङमा रामशरण बस्नेत, गुल्मीमा दिनेश पन्थी र दार्चुलामा गणेश ठगुन्ना इन्चार्ज बनेका छन्।
नवलपरासी पश्चिममा बैजनाथ चौधरी, म्याग्दीमा भूपेन्द्र बहादुर थापा, पर्वतमा गुप्त बहादुर ठकुरी र मुस्ताङमा श्रीमाया थकाली इन्चार्ज बनेका छन्।
काभ्रे, कालिकोट र मनाङमा इन्चार्ज तोकिएकालाई दोहोरो जिम्मेवारी परेको छ। बाँस्कोटा संघीय मन्त्री छन्। शाही कर्णाली प्रदेशका मुख्यमन्त्री हुन् भने बस्नेत गण्डकी प्रदेशमा मन्त्री छन्। इन्चार्ज खाली भएका जिल्लामा केन्द्रीय सदस्य नभएको कारण सह-इन्चार्ज टुंग्याउन नसकिएको प्रवक्ता नारायण काजी श्रेष्ठले नेपाल लाइभलाई जानकारी दिए।
उनले भने, 'केन्द्रीय सदस्य नभएका जिल्लामा सह-इन्चार्ज खाली भएको हो। बाहिरबाट पनि पठाउन सकिन्छ। इच्छा भएकालाई बाहिर जिल्लाबाट पनि पठाइएको छ। तर, कतिपय जिल्लामा बाहिरी जिल्लाबाट जान केन्द्रीय सदस्यहरू तत्पर नभएको हुँदा अहिलेलाई खाली राखिएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।