काठमाडौं- १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण जितेको छ। च्याम्पियनसिपको पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा शनिबार नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका हुन्।
पुरुष एथलेटिक फिजिकमा भारतका नकुल कौशलले रजत र माल्दिभ्सका फतुल्लाह मोहम्मदले कांस्य जिते। महिलाको मोडल फिजिकमा नेपालकै पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कास्य जिते।
च्याम्पियनसिपको सिनियर पुरुष बडीबिल्डिङको ७५ केजीमा अफगानिस्तानका सेफातुल्लाह हफिजी पहिलो, भारतका धर्मेन्द्र कुमार दोस्रो र नेपालका अशोक महर्जन तेस्रो भए। पुरुषकै ८० केजीमा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कास्य पदक हात पारे।
पुरुषकै ९० केजी तौल समूहमा अफगानिस्तानका गुलाजन ओमर, पाकिस्तानका मोहम्मद सैयद र फहिम अब्बासले क्रमशः स्वर्ण, रजत र कास्य जिते। यस्तै, ९० केजीमाथिको स्पर्धामा अफगानिस्तानका अहमद मोहम्मदी पहिलो, भारतका विनय कुमार दोस्रो र पाकिस्तानका सैयद फजल तेस्रो भए। जुनियर पुरुषतर्फ माल्दिभ्सका अहमद सैयदले स्वर्ण, भारतका ऋषि अथरेयाले रजत र नेपालका कृष्ण महर्जनले कास्यमा कब्जा जमाए।
पुरुष एथलिट फिजिकको १६७ सेमीसम्ममा अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जित्दा नेपालका निशान्तमान प्रधानले रजत र माल्दिभ्सका अहमद फजिलले कास्य पदकमा चित्त बुझाए।
यस्तै, पुरुषकै स्पोर्ट्स फिजिकमा माल्दिभ्सका अजनिन रसद पहिलो, नेपालका प्रमोद राई दोस्रो र अफगानिस्तानका ममिदुल्लाह खुर्सिदले तेस्रो भए। पुरुषकै स्पोर्ट्स फिजिकको १७० सेमीमा पाकिस्तानका उस्मान उमर, भारतका सिनु चोभा र भुटानका टासी छोस्केले क्रमशः स्वर्ण, रजत र कास्य पदक जिते।
च्याम्पियनसिपको ओभरलतर्फ भने भारतका रवीन्द्रकुमार मल्लिकले उपाधि जिते। यसैगरी टिमतर्फ अफगानिस्तान पहिलो, नेपाल दोस्रो र भारत तेस्रो भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।