काठमाडौं- भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी वेस्टइन्डिज विरुद्धको क्रिकेट शृंखलाका लागि नजाने भएका छन्। भारतीय आर्मीको कार्यक्रमका कारण उनी आगामी अगस्ट ३ देखि भारतीय टोलीले गर्ने वेस्टइन्डिज भ्रमणमा सहभागी नहुने भएका हुन्।
भारतीय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका धोनी भारतीय सेनाको रिजर्भ फोर्स 'टेरिटोरियल आर्मी'को लेफ्टिनेन्ट कर्नेल हुन्। सन् २०११ मा घरेलु मैदानमा भएको विश्वकप क्रिकेटमा भारतलाई उपाधि जिताएका धोनीलाई सेनाले सम्मानस्वरुप सो पद दिएको थियो। आगामी २ महिना उनी सेनामा आफू संलग्न रेजिमेन्टको कार्यक्रममा सहभागी हुनेछन्।
धोनीको सन्यासको कुरा चर्चामा रहेका बेला विश्वकपपछि भारतले गर्न लागेको वेस्टइन्डिज भ्रमणमा उनी जान नपाउने भएका हुन्। क्रिकेटका लागि भारतको सर्वोच्च संस्था बिसिसिआईले भने तत्काल धोनीले सन्यास नलिने स्पष्ट पारेको छ। बिबिसिआईका एक अधिकारीका अनुसार धोनी आफैंले सेनाको कार्यक्रममा जानुपर्ने भन्दै २ महिनाको समय मागेका समाचार संस्था पिटिआईले लेखेको छ।
आइतबार बसेको भारतीय क्रिकेट टोलीको छनोट समितिको बैठक अघि नै आफू भ्रमणका लागि नजाने सूचित गरेका थिए।
३८ वर्षीय विकेटकिपर ब्याट्सम्यान धोनी हाल भारतीय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान हुन्। ३ सय ५० एकदिवशीय खेल खेलिसकेका धोनीले केही दिनअघि मात्रै सकिएको विश्वकपमा सुस्त ब्याटिङ गरेको भन्दै आलोचना भएको थियो।
यसकारण पनि उनले अब भारतीय क्रिकेट टोलीबाट बाहिरिएर नयाँ पुस्तालाई स्थान सुरक्षित गर्न दिनुपर्ने आवाज उठेको थियो। धोनीले सन् २०१४ मा नै टेस्ट क्रिकेटबाट सन्यास लिइसकेका छन्।
भारतले वेस्टइन्डिजविरुद्ध ३ वटा टी-२० र ३ वटा एकदिवशीय खेल खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।