काठमाडौं- बेल्जियन स्ट्राइकर रोमेलु लुकाकूलाई खरिद गर्न इटालियन क्लब इन्टरमिलानले तोकेको ६० मिलियन युरोको प्रस्ताव म्यानचेस्टर युनाइटेड (म्यानयू)ले अस्वीकार गरेको छ।
२६ वर्षीय स्ट्राइकर लुकाकूलाई आफूले चाहेको भन्दा कम रकमको प्रस्ताव आएको भन्दै म्यान्यूले प्रस्ताव अस्वीकार गरेको जनाएको हो। लुकाकू २ वर्षअघि इभर्टनबाट ७५ मिलियन पाउन्डमा म्यान्यू भित्रिएका थिए।
यस वर्षको खेलाडी लिलामी प्रकृया अघि बढेकोमा इन्टरमिलान म्यानेजर एन्टोनियो कोन्टेले पहिलो नम्बरमै लुकाकूलाई टिममा भित्र्याउन चाहेका थिए।
'मलाई विश्वास खेलाडी उनी नै थिए, जसको आगमनमा टोलीको प्रदर्शन थप राम्रो बन्ने थियो,' कोन्टेले भने, 'एकातर्फ यो मेरो विश्वास र चाहना दुवै थियो, अर्कातर्फ भने हामीले टिमका लागि के प्राप्त गर्न सक्छौं भन्ने पनि थियो।'
लुकाकू अहिले म्यान्यूका खेलाडी भएकोले यस बारेमा आफूले केही बोल्न नमिल्ने बताउँदै उनले यसकारणले पनि आफूले म्यान्यू र लुकाकू दुवैलाई सम्मान गर्ने बताए।
उनले गत शुक्रबार लुकाकूका लागि आफ्नो प्रस्ताव म्यान्यू टिमसमक्ष राखेका थिए। यसअघि सन् २०१६-०१८ सिजनमा चेल्सीको म्यानेजर हुँदा पनि कोन्टेले लुकाकूलाई टिममा भित्र्याउन चाहेका थिए।
उनले थपे, 'तपाईंलाई थाहा छ कि म उनको खेल्ने शैली मन पराउँछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।