काठमाडौं- अल्जेरियाले २९ वर्षपछि अफ्रिका कप अफ नेसन्सको उपाधि हात पारेको छ। इजिप्टको कायरोमा शुक्रबार राति भएको फाइनल खेलमा सेनेगलविरुद्धको सुरुवाती अग्रतालाई अन्तिमसम्म कायम राख्दै अल्जेरिया १-० ले विजयी भएको हो।
खेल सुरु भएको दोस्रो मिनेटमै अल्जेरियाका बघदाद बोनिडिजाको प्रहार सलिफ सनको खुट्टामा लागेर गोलमा परिणत भएको थियो। पोष्टभन्दा केही अघि बढेका गोलकिपर अलफ्रेड गोम्समाथिबाट बलले जाली चुमेको थियो।
खेलको दोस्रो हाफमा सेनेगलले पेनाल्टी पाएको भए पनि अल्जेरियाको रिभ्युमा भिडियो एसिस्टेन्ट रेफ्री (भिएर)को सहयोगमा सो निर्णय उल्टिएको थियो।

खेल अवधिभर ६२ प्रतिशत समय बललाई आफ्नो पक्षमा राखेको सेनेगलले १२ प्रहार गरे पनि बलले जाली चुम्न सकेन। उता अल्जेरियाको एक मात्र प्रहारले नै गोलको दिशा लिएको थियो।
योसँगै पहिलो पटक अप्रिका कप अफ नेसन्सको उपाधि होडमा रहेको सेनेगल निराश बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।