राजविराज– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफनो निर्वाचन क्षेत्रका करिब १ सय ५० मुसहर परिवारलाई शनिबार कम्बल वितरण गरेका छन्।
शीतलहरका कारण दुई दर्जनभन्दा बढी सप्तरीवासीको ज्यान गइसकेपछि थप क्षति हुन नदिन यादव कम्बल बोकेर निर्वाचन क्षेत्र आइपुगेका हुन्।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य यादवले छिन्नमस्ता गाउँपालिकाको दलित बस्तीमा पुगेर शीतलहरबाट समस्यामा परिरहेकाहरुलाई कम्बल बाँडेको पार्टीका जिल्ला अध्यक्ष दिनेश यादवले बताए। दलित बस्तीका वृद्ध, विपन्न, अपांग, सुत्केरी, अशक्त लगायतलाई कम्बल वितरण गरिएको यादवले जानकारी दिए।
कम्बल दिँदै यादवले पाहुनाको लागि साँचेर नराख्न र यही जाडोमा उपयोग गर्न सुझाएका थिए। यसरी राहत सामग्री पाउने अधिकांशले न्यानो कपडा पाहुनाका लागि भन्दै साँचेर राख्दा आफैं चिसोको चपेटामा पर्ने गरेको अवस्था बुझेर यादवले त्यसरी सुझाएका हुन्।
‘पाहुनाका लागि भन्दै जतन गरेर राख्ने होइन, आफैंले ओढ्नुहोला’, यादवले कम्बल लिनेहरुलाई भने, ‘आफ्नो ज्यान बच्यो भने पो पाहुनाको स्वागत–सत्कार गर्ने हो।’
कार्यक्रममा पार्टीकी उपाध्यक्ष रेणुकुमारी यादव, प्रदेश सांसद शैलेन्द्र साह लगायतको सहभागिता थियो।
छिन्नमस्ता गाउँपालिकामा हालसम्म ६ जनाले चिसोबाट ज्यान गुमाइसकेका छन्। जिल्लामा चिसोका कारण मर्नेको संख्या दुई दर्जन नाघेको छ।
अध्यक्ष दाहालले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सप्तरीसहित तराईका जिल्लाहरुमा शीतलहरबाट पीडितहरुलाई आवश्यक राहत तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।