काठमाडौं- नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आरोप लगाएका छन्।
दोलखा–काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचित सांसदलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा इलाम २ बाट निर्वाचित नेम्वाङले प्रदेश प्रमुख र अस्थायी मुकाम नतोक्नुले सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आशंका उत्पन्न भएको बताए।
'सरकारले षड्यन्त्रमूलक ढंगबाट निर्वाचन सार्न खोजेको छ', उनले भने, 'होइन भने सरकारले यथाशीघ्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकोस्।'
नेम्वाङले सरकारले राष्ट्रियसभाको निर्वाचन समयमा नगराएर आफ्नो कार्यकाल लम्ब्याउन चाहेको आरोप समेत लगाए। उनले वाम गठबन्धनले बहुमत ल्याउँदा पनि वर्तमान सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त नगरेको गुनासो गरे।
पूर्वसभामुख नेम्वाङले व्यवहारमा एमाले र माओवादी केन्द्र एक भइसकेको भन्दै अब सैद्धान्तिक हिसाबले मात्र एक हुन बाँकी रहेको बताए। उनले पार्टी अध्यक्ष केपी शर्मा ओली बैंककबाट फर्किसकेपछि पार्टी एकतालाई मूर्त रुप दिने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।