नेपालगन्ज– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाढीले क्षतिग्रस्त चार वटा पुलको मर्मत तथा पुनर्निर्माण अझैसम्म सुरु हुन सकेको छैन।
क्षतिग्रस्त पुललाई सामान्य मर्मत गरेर एकतर्फी रुपमा यातायात सञ्चालन गरेको ६ महिना बितिसक्दा पनि मर्मत तथा पुनर्निर्माणको काम सुरुसम्म हुन नसकेको हो।
बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको शम्शेरगन्जस्थित परुवा खोला, खोचे खोला, गाबर खोला, गन्धेली खोलाका पुलहरु क्षतिग्रस्त भएका थिए। परुवा खोलाको पुलको मर्मत तथा पुनर्निर्माणका लागि करिब १२ करोड बजेट माग गरेर पठाए पनि अर्थ मन्त्रालयबाट बजेट निकासा भएर नआउँदा पुलको मर्मत तथा पुनर्निर्माणका लागि टेन्डर आह्वान गर्ने काम समेत हुन नसकेको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख अर्जुनकुमार बमले बताए।
बजेट निकासा भएर आए पनि टेन्डरका लागि एक महिने सूचना निकाल्नुपर्ने, टेन्डरको मूल्यांकन गरी स्वीकृत गर्न करिब थप १५ दिन लाग्ने भएकाले पुलको मर्मतको काम वर्षाअघि सक्न समय नहुने सम्भावना रहेको बमले बताए।
समयमै पुलको मर्मत हुन नसके आउँदो वर्षायाममा पूर्व–पश्चिम राजमार्ग नै अवरुद्ध हुने सम्भावना बढेको छ। बाढीले पुल भत्काएपछि गत वर्ष पूर्व–पश्चिम राजमार्गको लमही–कोहलपुर सडकखण्ड चार दिनसम्म अवरुद्ध भएको थियो।
हिउँदमा मर्मत तथा पुनर्निर्माणको काम नगर्ने र वर्षा सुरु भएपछि हतारहतारमा काम थालेर बजेट सक्ने क्रम यसपालि पनि दोहोरिने देखिएको छ।
पश्चिम नेपाललाई राजधानी लगायत पूर्वी नेपालसँग जोड्ने ‘लाइफ लाइन’को रुपमा रहेको राजमार्गका क्षतिग्रस्त पुलको मर्मत तथा पुनर्निर्माणमा सरकारी निकायले चासो नदिँदा यस क्षेत्रका बासिन्दाले वर्षाका बेला यसपाली पनि हैरानी खेप्नुपर्ने सम्भावना बढेको छ।
पूर्व–पश्चिम राजमार्गको लमही-कोहलपुर सडकखण्डमा दैनिक करिब १ हजार सवारीसाधन आउजाउ गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।