काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्वसहितको आर्थिक विकासका लागि वाम गठबन्धनले असाध्यै ठूलो मिहिनेत गर्नुपर्ने बताएका छन्।
देशभक्त गणतान्त्रिक मञ्चले शनिबार आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वाम गठबन्धनका लागि आगामी दिन सहज नभई धेरै चुनौतीले भरिएको टिप्पणी गरे।
'चुनौतीको समाधान गर्दै जनतालाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको दिशामा लैजानु जरुरी छ', उनले भने।
शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउने लक्ष्यका साथ नेकपा एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्न लागिएको भन्दै अध्यक्ष दाहालले लामो समयदेखिको नेपाली जनताको अपेक्षालाई सम्बोधन गर्न पनि राजनीतिक स्थायित्व जरुरी रहेको बताए।
नयाँ संविधान बनाएपछि तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने मुलुकको प्रमुख दायित्वलाई आफूहरुले सहजरुपमा सम्बोधन गरिसकेको भन्दै अध्यक्ष दाहालले समृद्ध नेपाल बनाउने युगको सुरुवात भएको उल्लेख गरे।
'संविधान निर्माण भए पनि कार्यान्वयन हुँदैन कि, नेपाली जनताले पाएको अधिकार संस्थागत हुँदैन कि भन्ने नेपाली जनतामा ठूलो चिन्ता थियो, त्यो चिन्ता दूर भएको छ। राजनीतिक स्थायित्वको दिशामा मुलुक केन्द्रित भएको छ', अध्यक्ष दाहालले भने।
देशलाई सक्षम र सबल मुलुकका रुपमा स्थापित गर्ने दायित्वलाई वाम गठबन्धनले उचित सम्बोधन गर्ने उनको कथन थियो।
कार्यक्रममा प्रा डा सुरेन्द्र केसीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सबैको सकारात्मक योगदानको जरुरी रहेको बताउनुभयो। उनले जनअपेक्षालाई सम्बोधन गर्न राजनीतिक नेतृत्व इमान्दार भएर प्रयत्न गर्नुपर्नेमा जोड समेत दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।