काठमाडौं- लेखक नयनराज पाण्डेले संस्मरणात्मक पुस्तक ‘यार’ बजारमा ल्याएका छन्। नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरियो।
लेखक पाण्डेका बालसखादेखि समकालीन लेखनमा सहयात्रा गरिरहेका पाँच साथीले पुस्तक ‘यार’को लोकार्पण गरेका थिए। श्यामल, पुरुषोत्तम सुवेदी, राजव, शार्दुल भट्टराई र जय हमालले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे।
नेपालगञ्जदेखि काठमाडौंसम्मको बसाइका क्रममा भेटिएका विभिन्न साथीसँगको रोचक संस्मरणलाई लेखक पाण्डेले पुस्तकमा उतारेका छन्। कार्यक्रममा उनले भने, ‘पुस्तकमा सतप्रतिशत इमानदार देखिने प्रयास गरेको छु, यसमा कुनै बनावटी कुरा समावेश गरेको छैन।’
एक दैनिक पत्रिकामा आफूले लेखेको ‘यार’ शीर्षकको एक लेखबाट पुस्तक लेख्ने प्रेरणा मिलेको पाण्डेले बताए।
कार्यक्रमपछि पुस्तकमा हस्ताक्षर गर्दै लेखक पाण्डे
‘यार भन्ने शब्दप्रति एक प्रकारको मोह थियो’, सञ्चारकर्मी शिवानीसिंह थारुसँगको अन्तर्क्रिया सत्रमा पाण्डेले भने, ‘साथीहरुका कुरा मीठो शब्दमा समेट्न सक्छु भन्ने लागेकाले पुस्तक लेखेको हुँ।'
उनले स्वार्थहरुको टकरावमा सम्बन्ध निर्माण र ध्वंशको शृंखलालाई पुस्तकमा समेट्ने प्रयास गरेको उल्लेख गरे।
सामान्य मानिसका असामान्य कथा लेख्न माहिर पाण्डेले यसअघि 'उलार', 'लू', 'घामकिरी', 'सल्लीपीर' जस्ता पुस्तक ल्याइसकेका छन्। पछिल्लो पुस्तक 'यार'लाई फाइनप्रिन्टले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।