न्युजिल्यान्ड– आइसिसी यू–१९ क्रिकेट विश्वकपको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको छ। शनिबारदेखि न्युजिल्यान्डमा सुरु भएको युवा विश्वकपमा सानदार सुरुवात गर्ने क्रममा अफगानिस्तानले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो।
समूह 'डी' को खेलमा पाकिस्तानले दिएको १ सय ८९ रनको सामान्य लक्ष्य अफगानिस्तानले ४७.३ ओभरमा ५ विकेटको नोक्सानीमा पार गर्यो। अफगानिस्तानको जितमा डर्विस रसूलीले नटआउट ७६ रनको योगदान गरे। उनले ७८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यसअघि ओपनर रहमुल्लाह गर्वाजले ३१ रन र इकारम अलि खिलले ४६ रनको योगदान गरेका थिए। बलिङतर्फ पाकिस्तानका हसन खानले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४७.४ ओभरमा १ सय ८८ रनमा अलआउट भयो। पाकिस्तानका लागि रोहिल नाजिरले ८१ रन र अलि जाएब अफिसले ३० रन बटुले। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्। पाकिस्तानको इनिङलाई कम स्कोरमा समेट्ने क्रममा अफगानिस्तानका क्वासिस अहमेद र अज्मातुल्लाह ओरमारजाईले ३–३ विकेट लिए। नवीन उल हकले २ विकेट लिँदा जाहिर खान र निसार वादतले १–१ विकेट लिए।
यता समूह 'बी' को खेलमा जिम्बावेले पपुवा न्युगिनीमाथि १० विकेटको सानदार जित हात पारेको छ। समूह 'सी' को खेलमा बंगलादेशले नामिबियालाई ८७ रनले पराजित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।