काठमाडौं– नयाँ प्रकाशन गृह 'रेड इंक'ले एकसाथ दुई पुस्तक सार्वजनिक गरेको छ।
आज काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा सत्यजित रायका कथाहरुको नेपाली अनुवाद 'सत्यजित रायका कथा' र डा देवेन्द्रराज पाण्डेको अंग्रेजी भाषाको पुस्तक 'दि आइडिया अफ इन्टिग्रिटी एण्ड दि युनिभर्स अफ करप्सन एण्ड एन्टिकरप्सन' सार्वजनिक भएको हो।
भारतीय लेखक सत्यजित रायका २३ कथाहरुलाई लेखक तथा अनुवादक खगेन्द्र संग्रौलाले अनुवाद गरेका हुन्। त्यस्तै, डा पाण्डेले भ्रष्टाचार र यसका न्युनिकरणको विषयमा पुस्तक तयार गरेका हुन्।
कथा संग्रहमाथि बोलेका पत्रकार नारायण वाग्लेले संग्रौलाको लेखकीय तथा अनुवाद शिल्प को प्रशंसा गरेका थिए।
'संग्रौला नेपाली लेखकहरुको डा गोविन्द केसी नै हुनुहुन्छ', वाग्लेले भने, 'लेखक भएर सधैं चकटीमा बस्नुहुन्छ र औंला उठाउनुहुन्छ।' वाग्लेले रायका कथा सर्वकालिक र सबैको लागि भएको बताए।
संग्रौलाले साहित्य सीमाहरुमा नबाँधिने बताए। भने– साहित्य भूगोल, भाषा र संस्कृतिको सीमाले बाँधिदैन।
कथा भनेर जुन खालको कथाहरु पढिन्छ, रायको कथाहरु त्यस्तो नभएको उनले बताए। 'यसमा धेरै चिजहरुको समिश्रण छ', उनले भने,' अलिकति तिलस्म अलिकति जादु, कहिँकतै अध्यात्म पनि छ।'
त्यस्तै संग्रौलाले विश्वप्रसिद्ध साहित्यका उत्कृष्ट कृतिहरु अनुवाद हुनुपर्ने बताए।
लेखक पाण्डेले भने विभिन्न देशहरुका बारेमा गरेको अध्यनले पुस्तक लेख्न उत्प्रेरित भएको बताए।
पुस्तकबारे बोल्दै पूर्व सचिव कृष्ण ज्ञवालीले जो कसैले लेखेको भ्रष्टाचार सम्बन्धी पुस्तक विश्वसनीय नहुने बताए। 'तर डा पाण्डे यो पुस्तक लेख्नको लागि उपयुक्त व्यक्ति हुन्।', उनले भने।
ज्ञवालीले जसलाई लक्षित गरेर पुस्तक लेखिएको हो, उसैलाई पढाउनका लागि भए पनि नेपालीमा अनुवाद गरेर प्रकाशित गर्न सुझाब दिए।
पाण्डेको पुस्तकमाथि आदित्य अधिकारी तथा अमिना सिंहले समेत बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।