काठमाडौँ – प्रतिनिधि सभा निर्वाचनका लागि ओखलढुंगा निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सन्त तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार रहेका अमिरबाबु गुरुङको पक्षमा समर्थन जनाउँदै उम्मेदवारी फिर्ता गरेका हुन्।
तामाङ यसअघि नेकपाको उम्मेदवारीका लागि आकांक्षी रहेका थिए। एमालेबाट अलग भई नेकपामा प्रवेश गरेका अमिरबाबु गुरुङलाई पार्टीले उम्मेदवार बनाएपछि तामाङ असन्तुष्ट बनेका थिए र त्यसकै कारण स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका थिए। पछि उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ताको निवेदन बुझाएका छन्।
उम्मेदवारी फिर्ता गर्ने निर्णयबारे तामाङले अमिरबाबु गुरुङले अघिल्लो कार्यकालमा जनप्रतिनिधि तथा मन्त्रीका रूपमा निर्वाह गरेको भूमिकाबाट आफू प्रभावित भएको बताएका छन्।
गुरुङको अनुभव र कार्यसम्पादनले आगामी दिनमा पनि ओखलढुंगाको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वासका आधारमा समर्थनसहित उम्मेदवारी फिर्ता गरिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।