पोखरा– नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप अन्तर्गतको राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौलमा स्नाच तर्फको १९ बर्ष अघिको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
यसअघि मदन शिबभक्ति नाम कीर्तिमान कायम रहेको थियो। शिबभक्तिले आठौं साफ गेममा उक्त कीर्तिमान कायम गरेका थिए। स्नाच तर्फ नेपाल प्रहरीका सन्देश गुरुङले १०० केजीका साथ रजत र बाराका मोहमद आशिक हुसेनले ८८ केजीका साथ कास्य पाए। क्लिन एण्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण पाए। उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गरे। नेपाल प्रहरीका सन्देश गुरुङले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका मोहमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए।
सेनाकै पुकार गुरुङ्गले १०५ केजी माथीको तौलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरे। उनले स्नाचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार बहन गरे। दोश्रो स्थानमा नेपाल प्रहरीका राजीव महर्जन रहे। उनले ९५ केजी भार बहन गरे।
कञ्चनपुरका सुभाष उपाध्यायले ८७ केजी भारका साथ स्नाचमा कास्य पाए। पुकारले क्लिनमा १४० केजी र कुलमा २१५ केजी गरि प्रथम स्थान हात पारे। क्लिनमा कञ्चनपुरका सुभाष उपाध्यायले १२० केजीका साथ रजत पाए। स्नाचमा दोश्रो स्थानमा रहेको प्रहरीका राजीव महर्जनले क्लिनमा ११८ केजीका साथ कास्य पाए। कुल तर्फ प्रहरीका राजीवले २१३ केजीका साथ रजत र कञ्चनपुरका सुभाष उपाध्यायले २०७ केजीका साथ कास्य पाए।
सेनाका सुरेन्द्र श्रेष्ठले ८५ केजी तौलमा स्वर्ण हात पारे । उनले स्नाचमा १०५, क्लिन एण्ड जर्कमा १२७ केजी गरि कुलमा २३२ केजी भार बहन गरे। नेपाल प्रहरीका गगन चन्दले स्नाचमा ९३, क्लिनमा ११७ केजी गरि कुलमा २१० केजी भार बहन गरे । चन्दले रजत पदक पाए । तेश्रो स्थानमा रहेका कञ्चनपुरका विशाल सिंह बिष्टले स्नाचमा ८५, क्लिनमा ११५ गरि कुल २०० केजी भारका साग कास्य पाए।
पुरुषकै ९४ केजी तौलमा नेपाली सेनाका टहल बहादुर बसेलले क्लिन एण्ड जर्क र कुलमा स्वर्ण पाए। उनले क्लिनमा १२७ र कुलमा २१७ केजी भार बहन गरे। टहलले स्नाचमा रजत पाए। उनले स्नाचमा ९० केजी मात्र भार बहन गर्दै नेपाल प्रहरीका श्रीकृष्ण महर्जनलाई स्वर्ण सुम्पे। महर्जनले स्नाचमा १०० केजी भार बहन गरे। महर्जनले क्लिनमा ११० केजी र कुलमा २१० केजीका साथ रजत पाए। भक्तपुरका जयदी कोजुले कास्य पाए। कोजुले स्नाचमा ८१ केजी, क्लिनमा ११० गरि कुल १९१ केजी भार बहन गरे।
तीन दिने प्रतियोगितामा तीन विभागिय टोली सेना, प्रहरी र एपिएफ तथा १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।