नयाँदिल्ली- भारतको सर्वोच्च अदालतका ४ न्यायाधीशले पहिलो पटक प्रधानन्यायाधीशको विरोध गर्दै पत्रकार सम्मेलन गरेका छन्।
राजधानी नयाँ दिल्लीमा सर्वोच्चका ४ न्यायाधीशले प्रधानन्यायाधीश दीपक मिश्रको कामकारबाहीबारे असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरेका हुन्।
भारतीय न्याय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चकै न्यायाधीशले यसरी सार्वजनिक रूपमा पत्रकार सम्मेलन गरेका हुन्।
पत्रकार सम्मेलन गर्नेहरूमा न्यायाधीशहरू जे चलामेशेरम, रञ्जन गोगोई, मदन लोकुर र कुरियन जोसेफ छन्।
४ जना न्यायाधीशले प्रधानन्यायाधीशले मनोमानी गरेको र न्यायाधीशबीच भेदभाव गरेको आरोप लगाएका छन्। पत्रकार सम्मेलनमा न्यायाधीश जे चलामेश्वरमले भने, ‘सर्वोच्चको प्रशासन ठीक तरिकाले चलिरहेको छैन, यसलाई ठीक बनाउन हामीले धेरै कोसिस गर्यौं, तर केही भएन। आज बिहान पनि हामीले प्रधानन्यायाधीशलाई भेटेका थियौं। हामीले यो सब किन भनिरहेका छौं भने भोलि हामीलाई आफ्नो आत्मा बेचेको आरोप नलागोस्।’
‘हामी चारै जना यस कुरामा सहमत छौं कि, यो संस्था अहिले नबचाए लोकतन्त्र बाँच्ने छैन,’ न्यायाधीशहरुले पत्रकार सम्मेलनमा भनेका छन्, ‘स्वतन्त्र एवं निष्पक्ष न्यायलय अहिले बचाउन सकिएन भने हामीलाई जनताले न्यायको आत्मा बेचेको भनी भविष्यमा गाली गर्नेछन्।’
आफूहरुले न्यायलयभित्रै रहेर त्यसको विरोध गरे पनि उक्त प्रयास असफल भएपछि वाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको उनीहरुको दाबी थियो।
पत्रकार सम्मेलन गर्ने चारै जना सर्वोच्चका वरिष्ठ न्यायाधीश हुन्। उनीहरु मध्ये २ जनालाई भावि प्रधानन्यायाधीशका रुपमा हेरिएको थियो। बिबिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।