बार्सिलोना– स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा बार्सिलोनाले सानदार जित हात पारेको छ।
बार्सिलोनाले प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगमा सेल्टा भिगोलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। जितसँगै बार्सिलोना समग्रमा ६–१ को जितसहित क्वार्टरफाइनलमा प्रवेश गर्यो। गत साता भएको पहिलो लेगमा बार्सिलोनालाई सेल्टा भिगोले १–१ को बराबरीमा रोकेको थियो।
१३ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका मेसीले १५ मिनेटमा दोस्रो गोल गरेका थिए। दुवै गोल मेसीले जोर्डि अल्बाको क्रसमा गरेका थिए। २८ मिनेटमा अल्बाले बार्सिलोनाका लागि तेस्रो गोल गरे। यसपटक अल्बालाई मेसीले पास दिए। तीन मिनेटपछि सुआरेजले बार्सिलोनाका लागि चौथो गोल गरे। खेल सकिन ३ मिनेट बाँकी छदा इभान राकिटिकले बार्सिलोनाका लागि पाँचौ गोल हेड मार्फत गरेका थिए।
अन्य खेलमा इस्पान्योलले लेभान्तेलाई ३–२ र सेभिल्लाले काडिजलाई ४–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।